Saturday, February 28, 2015

“साल चुटिएर पेटमै रह्यो ।”


J  लक्ष्मी राई 
फोटो फिचर बनाउन अनन्त बज्राचार्य दाईले हौसाउनु भयो । ल त प्रयास गरौ, गरे कसो नहोला त ! भन्दै, धरान उपमहानगरपालिका वडा नं.१५ हानिय । तर सोचे जस्तो विषय वस्तु भेटिन । तेस पछि सानुलाई भेट्न गए । तर, उनी त लोग्ने स्वास्नीको खटपटका दौरान लोग्नेले एक झापड लगाएको निहुमा माईती गईछिन् । काखको ८ महिने छोरा र ४ वर्षे छोरी च्यापेर । ३ दिन पछि फेरी गए, तब भेटियो उनलाई ।

जब म उनको घर पुगे, धेरै दिनदेखि थालभाडाहरु नधुइएका जुठो कट्कटिएर कालै थिए । झिङ्गा भन्किरहेका । कपडाहरु यत्र तत्र छरिएको । फोहरै फोहर थियो, घर । 

यस्तो फोहर भयो भने रोग लाग्दैन त ? 

लाग्छ । 

अनि सफा गर्नु पदैन ? किन सफा नगरेको त ? थाहा पाएर पनि । 

त्यसै । 

यती भनी काखको छोराको टाउको सुम्सुमाउदै चुप लागिरहिन् ।  

उनको घर सेउती खोला डिल सुकुम्बासीमा छ । माईत पश्चिम सर्दु खोलाको डिलमा । जेठि पट्टिको एक सुस्त मानस्थिति भएको १५ वर्षको छोरा, लोग्ने र उनका २ सन्तान सहित ५ जनाको परिवार एकै कोठामा बस्छन् । 

उमेरले २५ नाघेकी उनी मानशिक रुपमा अलि अस्वस्थ्य छिन् । पहिले त अलि राम्रै थिइन् रे । सेतो मक्षडले टोकेका कारण विरामी भए पछि उनको मानशिक अवस्था विग्रेको उनका श्रीमान् बताउछन् । 

४५ वर्ष नाघेको लोग्ने विहानै मजदुरी गर्न घरबाट निस्कन्छन् । राती, रक्सीले मातेर खुट्टाले टेक्नै नसक्ने भएर घर फर्किन्छन् । ओ ˜˜˜….ई, ओ ˜˜˜….ई भनी कराउदै । कलाकार राजेश हमालको स्टाईलमा । अनि घनघोर लडाई पर्ने रहेछ ।

विहेको बारेमा सोद्धा उनी भन्छिन् “घरमा आको आकै ग¥यो । अनि विहे गरेको नि ।” 
Photo from Google 

छोरी कती वर्षकी भई ?

६ वर्ष । 

छोरीको नाम चै के हो त ?

मेरी । 

अहा ! कस्तो राम्रो नाम । कस्ले राखेको नी ?

चर्चको मान्छेले राखेको । 

छोरो कति बर्षको भयो ?

९ वर्षको । 

नाम के राखिदियौ ?

सजिंब ।

छिमेकीले भने पछि थाहा भयो । छोरी ४ वर्षकी र छोरा ८ महिनाको भएछ । 

सुत्केरीमा राम्रो स्याहार, पोषिलो खाना नपाउदा सानु कमजोरीका कारण पनि उमेर भन्दा बुढी देखिन्छिन् । न पोसिलो खाना खान पाउनु छ । न पकाउनै आउछ उनलाई । पसलबाट किनी ल्याएको १ के.जी चामल पनि एकै छाक । ५ के.जी. चामल पनि एकै छाक पाकाउदि रहेछिन् । यसरी पकाएको भात सधै काचै हुदोरहेछ । खानु भन्दा सुगुरको चारो बन्ने रहेछ । त्यो दिन पनि रु.५००/ को चामल ल्याएकी भन्दै १ के.जी. जती चामल देखाउदै थिईन् । 

९ महिना अगाडि उनको घर कालो प्लाष्टिकले बारेको मात्र थियो । न ढोका थियो । न झ्याल । न सुरक्षितै थियो त्यो घर । न हावालाई छेक्थ्यो, त्यो घरले न पानीलाई न घामलाई नै । 

आवास निर्माणका लागि अनुदान सहयोग मार्फत समुदायको ईकाइ समितिले टिनको घर निर्माण गरिदिए पछि भने उनको परिवार सुरक्षित रुपले बस्न पाएका छ । 

अर्जुन (जेठ्ठि पट्टिको छोरो) खै त ?

खोलामा गुहू गदै छ होला ।

चर्पी नभएकाले खोलालाई नै चर्पी बनाउदा रहेछन् ।  

३ छोराछोरी भए अबो के पाउने ?

न ˜˜˜….पाउने । 

किन ?

“क्या˜˜˜….गाहृो भयो । जन्माउदा । नाल चुट्टिएर । बच्चाको साथी पेट भित्रै पस्यो । झण्डै मरेको । छोरालाई  ढुङ्गा माथी पाको नि ।” 

असार ४ गते राती बाटै बेथा लागेको न गाँउलेले थाहा पाएछन् न उनको मत्तु लोग्नेले । दुखाई खप्न नसकि खोलाको डिलमा पुगेर चिच्याउदै रुदा पो छिमेकीले थाहा पाए छन् । बच्चा त जन्मियो ढुङ्गा माथी तर साल चुटिएर पेटमै रह्यो । हतार हतार छिमेकीले छाता चौकको पुरानो हस्पिटल पु¥याए पछि उनको ज्यान बच्यो । 

छोरो पाएकोमा भने निकै खुशि छिन्, सानु । सम्पति खाने छोरो रे उनको । 

स्थाई परिवार नियोजन गर्न मानेनछन्, उनको लोग्नेले । न उनलाई नै गर्न दिए । जन्मेको बच्चालाई खोप पनि दिएका रहेनछन् । न पोषिलो खाना न राम्रो हेरचाहा । तैही पनि निस् फिक्रि छिन् उनी । 

न्यून आयस्तर, मानशिक रुपले अस्वस्थ्य अवस्था अनि मत्तु लोग्नेको गैरजीम्मेवार साथ । भोली कस्तो होला उनको ? सोच्दै फर्किए । 

२०७१ फागुन १५ गते शुक्रबार । 

Wednesday, February 4, 2015

Walking Dharan नौलो अभियान

“स्वस्थ्य पनि फिट, धरान सिटि हिट”
 Jलक्ष्मी राई 
         कहिले काहि योजनाका खाका हिड्दा हिड्दै बन्छन् । गफ गर्दा गदै पूर्ण आकार लिन्छन् । ती मध्ये केहि व्यवहारीक रुपमा सम्पन्न हुन्छन् । केहि तेस्सै हराउछन् । यस्तै गफिदै गर्दा बनेको योजना हो, “Walking Dharan” । धरानका सचेत युवाको चिया जमघटको दौरान बनेको यो योजना आज धरानको पर्यटन विकासका लागि सहयोगी बन्दै छ । व्यस्त शहरी जीवन शैली, खानपान र आरामपूर्ण कामका कारण शहरका मानिसहरुको स्वास्थ्य समस्या बुढौलीले नछुदै शुरु हुन्छ । मधुमेह, प्रेसर, मुटु रोग, माटोपन र यस्ले निम्त्याएका रोगहरु बालकदेखि वृद्ध सबैलाई तर्साउने हाउगुजी बनेका छन् । फिट र दुब्लो रहनु फेसन र स्वस्थ्यको दृष्टिकोणबाट पनि आजको आवश्यकता भएको छ । यसलाई समयको माग पनि भन्न सकिन्छ ।
       
         यही मागलाई नौलो र सृजनात्मक रुप दियो "Walking Dharan" अभियानले । स्वास्थ्य स्थितिलाई सन्तुलन राख्न विहान हिडेर धरानका विभिन्न पर्यटकिय क्षेत्रहरुमा पुग्ने र ति क्षेत्रको सामाजिक संजाल फेस बुक मार्फत प्रचार प्रसार गर्ने उद्देश्य रहेको छ । जस्ले स्वास्थ्य पनि फिट रहने र धरानका पर्यटकिय स्थलहरुको पनि प्रचार प्रसार भै पर्यटन विकासद्धारा आर्थिक विकास हुने काईदाको काम पनि गरेको छ । त्यसैले यसको नारा पनि “स्वस्थ्य पनि फिट, धरान सिटि हिट” भन्ने रहेको छ । 
     
        यो अभियानको एक सय दिन पार गरिरहदाँ धरानबासीहरुको साथ पाई रहदाँ प्रोत्साहित भएका छन्, अभियानकर्मी सन्दिप शाक्य, मानभगत चाम्लिङ्ग, प्रेमराज शाक्य, मणिराज अधिकारी, पर्वत श्रेष्ठ, सुभाषचन्द्र सिंह र रिना घले अनि अरुपनि धेरै । १० वर्ष देखि ६२ वर्ष उमेर समुहका सहभागीहरु विहानै ५ बजेदेखि निकै उत्साहपूर्वक सहभागीता रहने गरेको बताउनुहुन्छ, पे्रमराज शाक्य । यता आफ्नो युरिक एसिडको समस्याबाट मुक्त भएको र आफ्नो अनावश्यक मोटोपनमा कमि आएकोमा मख्ख देखिनुहुन्छ, अभियानकर्मी मध्येका एक मानभगत चाम्लिङ्ग । विहानै हिड्दा शरिर फुर्तिलो हुने हुदाँ आफु पनि सहभागी रहदै आएको बताउनुहुन्छ, कोपिला निरौला ।

        यो अभियान “धरानलाई पर्यटकिय क्षेत्रको रुपमा पनि अन्र्तराष्ट्रिय स्तर सम्म चिनाउने अभियान हो । त्यसैले पनि यो नौलो र सन्देशमुुलक छ ।” भन्नुहुन्छ, पर्यटन विषयमा कलम चलाईरहनु भएका पत्रकार रिना घले । विहान हिड्दै पुगेका स्थानहरुको सामाजीक संजाल फेस बुक मार्फत प्रचार गरिहाल्नुहुन्छ, अभियान्ता सन्दिप शाक्य । जस्का लागि "Walking Dharan" फेस बुक पेज पनि बनेको छ । यसै फेसबुक पेजमार्फत देश विदेशका फेसबुक प्रयोगकर्तालाई धरानको पर्यटकिय स्थलको जानकारी गर्ने र गराउने काम भइरहेको छ । 
     
       आफ्नो छुट्टै धार्मिक, सास्कृतिक तथा प्राकृतिक पहिचान बोकेको धरान उपमहानगरपालिकाले पर्यटन क्षेत्रमा राम्रो सम्भावना बोकेको छ । प्राकृतिक दृष्यावलोकन योग्य स्थल भएको सर्दु र सेउतीका झोलुङ्गे पुलहरु, विष्णुपादुका र पाँचकन्यालाई धरान जोड्ने पुलका रुपमा मात्र नभई सामाजीक, धार्मिक, आर्थिक र पर्यटनको हिसाबले फाइदाजनक रहेको छ । १ दिनमै हिडेर पुग्न र केहि समय रमाईलो गरी साँझ घर फर्कन सकिने “हाईकिंङ्ग” को राम्रो सम्भावना बोकेका स्लथहरु हुन्, शिवझट्टा, चिण्डे डाँडा, विष्णुपादुका, स्तुपा डाडाँ, आसो ध्यान केन्द्र र विभिन्न धार्मिक बनहरु । यसले आन्तरीक पर्यटनको सम्भावनालाई टेवा पु¥याएको छ । विजयपुर, पिण्डेश्वरी, दन्तकाली, पन्चकन्या, शनि, विश्वकर्मा मन्दिर, चर्च तथा मस्जिद जस्ता धामिर्क आस्था बोकेका पवित्र मन्दिरमा वर्षेनी सयौ तिर्थालुको आगमन हुने गर्दछ ।
     
        जातिय ऐतिहासीक तथ्य पुष्टी गर्ने विजयपुर बुद्धिकर्ण राजाको दरबार ईतिहास अध्ययनका लागि महत्वपूर्ण थलो हो, जो यही धरानमा पर्दछ । धरान भित्र रहेका यस्ता धेरै क्षेत्रहरुमा प्रत्येक शनिवार विहान सामुहिक रुपमा भेला भई हिड्दै पुग्ने कार्य भईरहेको छ । कहिले छाता चोक त कहिले भानु चोकमा भेला भई यो नौलो अभियानका लागि लम्किरहेका छन् धराने पाईलाहरु विगत २०७१ असोज २५ गते शनिबारबाट ।

        यसै क्रममा सहभागी युवाहरु धराने हुनुको सामाजिक उत्तरदायित्व पुरा गर्न लागि परेका देखिन्छन् । मन्दिर सरसफाई, वृक्षारोपण, यात्रीहरुको सुविधाका लागि जानकारी मुलक संकेत चिन्ह बाटो बाटोमा राख्ने जस्ता प्रशंसनिय कार्यहरु पनि भईरहेको छ । यसरी ख्याल ख्यालैमा बनेको योजना स्वास्थ्यमा मात्र नभई सामाजीक तथा पर्यटन विकासको लागि सहयोगी अभियानको रुप लिएको छ ।


(सन् २०१४ को धरान जेसिज "Action" Publication को मा प्रकाशित )

Monday, February 2, 2015

"पुरानो डायरी पल्टाउदा "

सुकुम्बासी हुन मन थिएन

J लक्ष्मी राई  
   भेरी अन्चल जाजरकोट जिल्ला फुपना गा.बि.स. १ का सार्की वर एक सक्रिय एमाले कार्यकर्ता  हुन् । २०५७ सालको गा.बि.स. चुनावमा दरखास्त दिएका मध्ये सबैले फिर्ता गरेछन् । तर उनले किन भ्याएनन ! माओवादीको उर्दी नमाने झैँ भयो । यहि कारण बन्यो उनको अपहरणको । २०५७ साल पुष १७ गते राती ११ बजे नेकपा माओवादी कार्यकर्ताले अपहरण गरी लगे ।
  
   "खलङ्गा गा.बि.स. र छात्रा गा.बि.स. सिमानाको जंगलमा लगी पिटे ।  पिटाईको चोटले अचेत भएका उनलाई मर्यो भनि जंगल मै फालेर हिडे माओवादी कार्यकर्ताहरु । भोलि पल्ट घरेलुका कर्मचारीहरुले देखेपछि उनीहरु लगाएत गाँउले सबैले उद्धार गरेका हुन् मलाई ।"  सार्की वर बताउछन् । 

   "लस्कर लाएर आउथे माओवादीहरु । कहिले खाना खुवाउनु पर्ने ।कहिले धान, चामल सापटी भन्दै लग्थे । यसरी मेरो कति धान त मागी पैचो भन्दै खाँए । यती मात्र कहाँ हुनु ।  माओवादीले पर्चार घर्का भित्तामा लेख्न चाहान्थे ।  तर आर्मीले थाहा पाए, फेरी हामीलाई कुटपिट गर्ने । त्यसैले पर्चा टाँस्न दिएनौ। निहु त त्यहि पनि थियो उनीहरुलाई ।" श्रीमती काली वर बताँउछिन् ।

   उपचारको लागि नेपालगंज भेरी हस्पिटलमा ३ वर्ष उपचार गरेका सार्की वरको छातीका तीन वटा हड्डी नै फाल्नु पर्यो । हाल उनि शारीरिकरुपमा अशक्त छन् । ३ छोरी ३ छोराका बाबु, सार्की वरको दुई श्रीमती छन् । यो घटना पछि मोओवादीहरु घरमा आई "..सौता ल्याएको त्यस्तो बुढालाई पनि माया गर्छौ, बुढी !" भन्दै हाँस्ने गरेको उनकी श्रीमती काली वर सुनाउछिन् ।

  "तिन चार दिनसम्म खाना दियौ ।  एउटैले चौध पन्ध्र वटा रोटी खान्थे । कसरी पुर्याउने ? ६ महिनासम्म १ छाक खाएर बस्यौ ।  आफ्नी ठुली छोरी १० मा पढ्दै थिई । यस्तो पढेको मान्छे घरमा बस्न हुन्न । हामीका नपठाईदिए यो बन्दुकको नालबाट मर्नु पर्ला । भन्दै धम्काउथे । मार्छ भन्ने डरले लुकी छिपी छोरीलाई जिल्ला सदरमुकाम पठाए ।  अहिले घर जाउ भने पनि भएका तिनी घर भत्कि सकेका छन् ।  गएर काम गरि खाने शारीरिक अवस्था पनि छैन ।  क्षतीपुर्तिको नाँउमा जाजरकोट जि.वि.स.ले उपचार खर्च १२०००/ र ८०००/ जि.प्र.का.ले दिए बाहेक केहि प्राप्त भएको छैन । जसो तसो यहाँ ऐलानी जग्गामा बस्तै गुजारा चलाएका छौ । गाँउमै खुसि बसेका थियौ । यहाँ यस्तरी सुकुम्बासी भएर बस्ने मन कहाँ छ र !" काली वर थप्छिन् ।

  कोहलपुर एकता नगरमा सानो टहरामा बस्छन् सार्की वरको परिवार । हाल उनको एक सानो घुम्ती पसल छ कोहलपुरको चोकमा । तेहाँ श्रीमती बस्छिन ।  सार्की वर सानोतिनो सक्ने मजदुरी काम गर्दै अली अलि कमाउछन् ।  धन नभए पनि मन ठुलो छ उनको । समुदाय बिकास गर्न आफुले सक्दो गर्छन ।उनिअहिले स्थानीय सामुदायीक बिध्यालयका अध्यक्ष पनि छन् ।              


(मिती २०६६ सालमा सार्की वर परिवारसंगको कुराकानी)



"पुरानो डायरी पल्टाउदा "

J लक्ष्मी राई  
आशमा छन् बिस्थापित रेशम गिरीका परिवार


   ११ वर्ष भईसकेको छ । रेशम गिरी आफ्नो जन्मथलो सल्यान जिल्लाको कालागाँउबाट विस्थापित भएका । हाल उनि बाँके जिल्लाको रझेना गा. वि. स. ४ को शक्तिनगरमा बसोबास गर्दै आईरहेका छन् ।

   गाँउका सम्पन्न परिवार तथा नेपाली कांग्रेसका सत्रिय कार्यकर्ता भएकै कारणले २०५२ सालबाटै ने.क.पा. माओवादीका कार्यकर्ताले विभिन्न किसिमका राजनैतिक पूर्वाग्रह राखी धम्की दिदै आएका थिए । त्यस ताका मोओवादीको गतिबिधि बिशेष गरेर गाँउका जमिन्दार, शोषकी तथा कांग्रेसका कार्यकर्ता माथी केन्द्रित हुने गर्दथ्यो ।

    शुरु शुरुमा डर धम्की मात्र दिने गरेको । तर २०५४ साल असोज २४ गते माओवादीबाट रातो अक्षरमा लेखिएको चिठ्ठी सार्वजनिक ठाँउमा टाँसियो । जस्मा "रेशम तेरा कार्तिक ५ गते सफाई हुदैछ । मिठो मिठो खाएर बस् ।" भनि लेखिएको थियो । रेशम गिरी आफ्नो बिगतका त्रासदीपूर्ण समय सम्झदै बताउनु हुन्छ ।

     आफ्नो ज्यान बचाउना परे पछि उनि २०५४ असोज २५ गते घर बाट लुकीछिपी भागी बाँके जिल्लामा आएर आफन्तका लुकिछिपी बसे ।

     कुरा यतिमा पुगेन माओवादी पार्टीलाई । बि. सं. २०५५ कार्तिक ५ गते छोरो प्रकाश गिरीलाई अपहरण गरि लगे । ५ दिन पछि मार्ने योजना बनाएकै बेला इलाका प्रहरी कार्यालय सल्यानले उद्धार गर्यो । ३ महिनासम्म उपचार पछि छोरोको स्वस्थ्य स्थिती सामान्य भयो । घर पनि झन्डा गाडेर तालाबन्दी गर्यो । केहि दिन त आफन्त काहा बसेर गुजारा चल्यो परिवारको तर सधै आफन्त कहाँ काहाँ सकिन्थ्यो र बस्न ! २०५६ साल बैशाष १९ गतेका दिन सबै परिवार (१० जना) बसाइ सर्न बाध्य हुनु पर्यो । 

   हाल श्रीमानसंगै बसेकी उनकी श्रीमती भन्छिन । "घरमा झन्डा हलेपछि बाहिरै बस्यौ । बिचल्ली भनी साध्य भएन । हुक्क भएर छोरा छोरी लिई कन आयौ । जहाँ गए पनि मार्छन कि भन्ने डर ।"

     वनको जग्गा फडाँनी गरि सुकुम्बासीको रुपमा बस्न बाध्य यी परिवारका छोरा ४ वर्ष सम्म भारतमा श्रम गर्न बिदेशीय । हाल उनि नेपाल आर्मीमा काम गरिरहेका छन् । माइला छोरा पनि सरकारी सेवा क्षेत्रमै कर्मचारी छन् । शान्ति सम्झौता भए पछि राहत पाउने भनिएता पनि हाल सम्म कसैको सहयोग र सरकारबाट पनि क्षतिपूर्ति नपाएको बताउछन् ।

  
(मिती २०६६ सालमा रेशम गिरीसंगको परिवारसंगको कुराकानी ।)



     

"पुरानो डायरी पल्टाउदा "



आफन्त नै बैरी भएपछि

J लक्ष्मी राई  
   " मेरो श्रीमानको नाम मनराज शाही हो । उहाँ ससस्त्र प्रहरी हुनुहुन्थ्यो । यो छोरो पेटमै थियो । सात महिना भएको थियो, जब उहाँको मृत्यु भयो । अहिले यो छोरो २ वर्ष पुरा भैसक्यो ।  दिनदिनै यसले बाबुको अभाव महसुस गर्नेछ । "मेरो बुबा खोइ आमा ?" भन्दा के भन्ने ? बिचराले बाबुको छाँया पनि भेट्न ...." पलेटी कसेर बस्नु भएको लक्ष्मी दिदिले स्वरयन्त्र अड्काउदै भन्नुभयो  ।   
   लक्ष्मी दिदिको माइत कंचनपुर लौरी हो । मागी बिबाह भएको उहाँको घर कालिकोट भएपनि श्रीमानको जागिरको सिलसिलाले श्रीमानसंगै कोहलपुर शम्सेरगंज तिरै बस्दै आउनुभएको थियो ।
     " उति बेला २०६१ सालतिर देशमा अशान्ति थियो । लडाइ भैरहने । जहिले पनि डरले गर्दा मन ढुक्ढुक गर्दै बसिन्थ्यो । म माइत गएकी थिए ।  २०६३ सालमा हो । खैरी खोला गस्ती जाँदा माओवादीसंग भिडन्तमा परेर उहा बित्नु भएछ । त्यो बेला गस्तीमा गएका ११ जना प्रहरी पनि मरेका मरेछन् ।  सास पनि भेट्न पाइएन ।  बिहे भएको २ वर्ष मै कालले उहाँलाई मबाट खोसेर लग्यो ।  हामी जस्तो अनपढ आइमाईलाई एक्लो जिन्दगी जिउन गारो पर्ने रहेछ, लक्ष्मी बैनी...." भन्दै दिदिले लाइरहनु भएको कुर्थाको सालको टुप्पोले आँखा किनारको डिल हुदै झर्न लागेका आँसु पुस्नुभयो ।
     म आँखाका आँसु रोकी बोल्न नसकी सुनुरहेकी थिए । मानिस पनि कति स्वार्थी हुन्छन् । यस्तो अवस्थामा सान्त्वना र सहयोग दिनु पर्ने ठाँउमा आफन्त नै बैरी भईदिए लक्ष्मी दिदीको लागि ।
     सरकारले दिएको क्षतिपुर्ति पनि "...खोइ मेरो भाग" भन्दै आफन्तले मागे । मान्छेको भन्दा पैसा ठुलो होईन । तर भनुस् त लक्ष्मी बैनी म जस्ती राडीको पनि त बाँच्ने आधार थिएन । यो मेरो छोरोको भबिष्य मेरो जिम्मेवारी थियो । जेठाजुले यसरी पैसा मागेर झगडा गर्नु भयो । मेरो माइती पनि नभएको भए, मेरो बिजोग हुने थियो त्यो अवस्थामा । अहिले कोहलपुर ग.बि.स. ३ कालिकानगर बसेको १ वर्ष भयो ।  क्षतिपुर्ति पाएको ९ लाखबाट यो सुकुम्बासीमा जग्गा किनेर सानो झुप्रो बनाएर बसेकी छु । छोरोको भविष्यको लागि बाँकि पैसा बचाएकी छु ।  अब यहि एउटा त छ मेरो बाच्ने आधार । यसैको मुख हेरेर बस्नु छ ।
      " आफ्नो दुख बिसाई रहन्छु । तपाईले सुन्नु हुन्छ । यसरी भन्दा पनि हलुङ्गो हुदोरहेछ । म भन्दा सानी हुनुहुन्छ । आफ्नै जस्तो लाग्छ । बैनी नै भने है । नरिसाउनुस है लक्ष्मी बैनी । मिस भन्न मुखै लागेन ।
     " किन रिसाउनु र दिदि भैहाल्छ नि ...यसरी लक्ष्मी दिदि जस्तै धेरैका कुरा सुन्दै बित्थे मेरा दिनहरु बाँके कोहलपुरमा ।

(मिती २०६६ साल बाँके कोहलपुरमा रहदा लक्ष्मी शाही दिदीको जीवनको भोगाईबाट )