Showing posts with label कथा (Story). Show all posts
Showing posts with label कथा (Story). Show all posts

Saturday, January 4, 2014

बिद्रोह

(यो कथामा धरानकी १ महिलाको जीवनमा आधारित वास्तविक घटनालाई कथामा ढाल्ने प्रयास गरेकी छु  समाजमा घटिरहेका तर बाहिर आउन नसकिरहेका यस्ता कुराहरुलाई बाहिर ल्याउन आवश्यक ठानेर धेरै चोटिको आफ्नै मनसँग गन्थनपछि आफ्नो ब्लगमा पोस्ट गरेकी हु ।)

बिद्रोह
                             
Photo from Google.
माघको कठ्यांग्रिने जाडोको रात छिपिदै जादा घण्टाघरले १० बजेको सूचना दियो  स्वास्नी धन्दा सकेर सुत्ने बेला भैसक्दा पनि अलंग टलङ्ग गर्दै छे आज  लोग्ने अगीदेखि ओच्छ्यानमा उस्लाई पर्खिरहेको थियो  "कति बेर लगाकी छिटो आइज " लोग्ने ओछ्यानबाटै आवाज दिन्छ  


"जे पर्ला पर्ला आज दिदै दिदिन" चौवन्दिको तुना ३ गाठो पार्छे  यत्रो लामो समय म कसरी उस्लाई झेलीरहन सकिरहेकी छु ? आफ्ना इच्छा चाहनाहरु समाजले जबर्जस्ति ओडाईदिएको लाजको पच्छेउरीले दिनमा र रातमा सिरकले छोप्दा छोप्दा निसास्सिएकी छु  पुरुषवादी चिन्तन भित्र खादिएका, अनि बेस्सरी जकडिएका चाहनाहरुलाई स्वतन्त्र बनाउने बर्षौको प्रयासलाई यो समाज कसरी बेश्याको संज्ञा दिन सक्छ  बिहे भएको २३ वर्ष भैसक्दा पनि अझै मेरो चरित्र प्रति ससंकित हुने मेरो लोग्नेले मलाई कहिले बुझेन  हेरौ न मेरो इच्छा बिपरित आज कसरी मलाई छुदो रहेछ ?" स्वास्नी सरक्क सिरक भित्र पसेर अर्को पट्टि मुख फर्काएर ३ बित्ता पर सुत्छे 

"किन ३ कोष पर सुतेकी ? सुत्त्नेबेला के लाकी यो बक्खु ?" लोग्ने स्वास्नीलाई आफूतिर तान्दै भन्छ 

"अरु झगडा ओछ्यानमा आएर मिल्छ तर ओछ्यानबाट शुरु भएको झगडा आदलत पुगेर सम्बन्ध बिच्छेदमा टुन्गिंछ  तर म एक्कैले कसरी सम्बन्ध बचाउन सक्छु ? अब पुग्यो " अझ बढी दृढ हुदै स्वास्नी प्रतिक्रिया बिहिन उस्तै पल्टिरहन्छे 
Photo source : Google  

"सुनिनस् ? के भो तलाई ? केको नखरा पर्दै छस् ?" लोग्ने ओडिरहेको सिरक फालेर स्वास्नीलाई उत्तानो पार्दै चौबदिको तुनामा हात पुर्याउछ 

"अब पुग्यो " लोग्नेको हात छातीबाट थुत्दै कराउछे स्वास्नी  "स्वास्नी हुनुको तात्पर्य लोग्नेको चाहनामा ओछ्यानमा उसले भने जसरी आफुलाई लडाईदिनु मात्र होइन  राम्रा लुगा र गहनामा मात्र रम्न सक्दैन उस्को मन  भौतिक सुखले मात्र उस्का चाहना मेटिदैनन्  तिम्रो चाहना मेटाउन नांगिदा कहिले तिम्ले मेरो चाहना के ख्याल गरेका छौ ? म के चाहन्छु ? कस्तो चाहन्छु ? बुझ्ने कोशिश कहिले गरेऊ ? म पनि मान्छे हु  तिम्रो जस्तै मेरो पनि चाहना हुन्छ ? तिमी झैँ म पनि रम्न चाहन्छु "

सपनामा पनि नसोचेको आज उस्कै अगाडी घटिरहेको घटना देखेर लोग्ने अचम्भित भएर हेरिरहेको छ, ३ सन्तानकी आमा आफ्नै स्वास्नीलाई  "हैन  तैले निलो फिलिम हेरीस् कि क्या हो ? जे पायो तेही बोल्छेस् "

"कुरा समझदारीको हो  समानताको हो  तिम्रो जस्तै मेरो भावना अनि चाहनाको सम्मानको कुरा हो  जुन मैले कहिले महसुस गरिन तिमीबाट  म तिम्रो जीवन संगिनी हु  बुझेउ ? " जब यो सम्मान दिन तयार हुनेछौ तबमात्र तिम्ले मलाई छुनु " स्वास्नी लोग्नेले फ्यालेको सिरक तानेर सुत्छे  अगी जस्तै        

                               "समाप्त" 


 :  लक्ष्मी राई
२०७० पुष १३ गते शनिवार   


Thursday, August 29, 2013

नितु दिदि



   लक्ष्मी राई 
   "नितु दि ! फोटो दामी लाग्यो । भिनाजु हो ?"

   "हैन मेरो बोय फ्रेन !" रिसाएर, चिम्से आखाका गेडा बाहिरै निक्लेला झैँ गरि मतिर हेर्दै उतरको झटारो बर्साईन । उनलाई पनि मेरो प्रस्न झटारो भन्दा कम थिएन रहेछ । मेरो सोच पनि कति निच ! भिनाजु नभए को हुन्थ्यो ? अरु हुदो हो त तेस्तो फोटो तेसरी सबैलाई देखाउनु हुन्थ्यो त  ? दोस्रो बिबाह गर्ने महिलाहरु चरित्र हिन्न नै हुदैनन् नि । यत्रो देश डुलेर, सेस भैसकेर पनि उही संकुचित बिचारमा आफुलाई बाधी राख्ने कस्ती म । मैले गलत नै भनेकी रहेछु, मैले अनुमान गरे । अब त्यो भिडमा बस्न उचित लागेन मलाई । लुसुक्क, अर्को भिड तिर लागे । आजसम्म पनि बाँचेको संकीर्ण सामाजको एक प्रतिनिधि पात्र म । 

   उनि नितु । नितु लिम्बु गुरुङ । बिहे पछि जोडिएर भएको दुइटा थर । ताप्लेजुंग जन्मिएकी उनि बिहे पछि काठमाडौं बस्थिन । उनको पहिलो श्रीमान कर्ण लिम्बु संगै । १ छोरीका बाबु कर्ण निजामती कर्मचारी थिए । उनि र मेरो भेट आज भन्दा ५ वर्ष अगी भएको थियो उनकै पसलमा । नया बानेश्वरमा उनको फेन्सी पसल थियो । म अकसर उनकोमा कपडा किन्न पुग्थे । हसिलो अनुहार, फरासिली उनि हाक्की स्वभावकी थिइन् । तेही भएर पनि म उनकोमा नै जना रुचाउथे । अर्को कुरा उनकोमा सस्तो, राम्रो कपडा पाइन्थ्यो । शनिबार कहिले कसो पसलमा पसियो भने उनका श्रीमान पनि भेटिन्थे । तर उनीहरु बिच खासै मिल्ती देखिनन् थियो । एक पस्चिम त १ पूर्व फर्केका हुन्थे । किन मिल्ती थिएन ! सोध्न गार्हो लाग्थ्यो । कहिले सोधिन पनि । 

Photo taken from Google
   जागिरे जिम्मेवारी पुरा गर्न म पश्चिम बाकेको २ वर्षे बसाइ पछि धरान आइपुगेको पनि ३ वर्ष भएछ । उनिसंग फेरी भेट भएको २ महिना जति भएको थियो । वडा न १० बाट कोठा सरेर म उनकै पल्लो घरमा  सरेको भर्खर १५ दिन हुदै थियो । कौसीमा लुगा सुकाउन जादा उनि पनि आफ्नो घरको कौसीमा थिइन् ।  ११ महिने छोरालाई घाममा तेल लगाउदै । अहो ! नितु दी हैन ? मैले अचम्म मान्दै अड्कल काट्दै सोधे । मेरो अड्कल मिल्यो । नितु दि नै हुनुहुदो रहेछ । चिनु भयो मलाई । छक्क पर्दै सोध्नु भयो । ए हो नि ! लक्ष्मी बैनी । हैन कसरी यता आइपुग्नु भो ? बिहे गर्नु भयो कि कसो ? प्रतिउत्तरमा मैले भने । "हो नि दि मेरो बुडो जागिर म उसकी बुढी जागिरे ।  जता बुढो उतै बुढी  ।" दुबैको हासो छुट्यो ... हे हे हे हे । "अनि दि छोरी खाई त कत्री भै ?" मेरो उत्सुकता राखे । नितु दि अलि असहज हुदै अन्कनाए झैँ भइन् । "उसकै बाउ संग । अनि भिनाजु नि ?" मैले फेरी सोधे । खाई उतै काठमाडौं होला । मैले सोचे ..आझै उस्तै रहेछ यी जोइ पोइको सम्बन्ध । तर दि कसरी गुरुङको घरमा ? 

   "उस्को र मेरो तेतिनै होला लेखान्त । हामी छुटेको ३ वर्ष भयो ।" नितु दिदिले भन्नु भयो । किन के भएको थियो र ? मेरो उतर दिदै भनिन "थिए धेरै कुराहरु के भन्नु ?" 


   नभन्ने भईन दिदीले । के कारण थियो होला ? उनीनै तेस्ती हुन की, ति भूतपूर्व भिनाजु भनाउदा तेस्ता हुन् ? बिचारी त्यो छोरीको पो बिजोग हुने भो त । बाउ आमाको जुधाईमा बच्चाको वर्तमान र भविश्य बिग्रिने भयो आजकाल कति धेरै सम्बन्ध बिच्छेदको घटना बढेका ...किन होला ? आजसम्म भनेकी छैनन् उनले मलाई । घरि घरि त मेरो तथ्यहिन अनुमानले उनलाई नै दोषी ठान्छ । पुरुष प्रधान समाजको एक हिस्सा न परे महिलालाई नै दोषी ठान्छ ।

२०७० आसार १३

Friday, July 26, 2013

यात्रा (भाग १ )

"....खानुन "। उसले, अगी अडर्र गरेको भेज मसरुम सुप मतिर सार्दै भन्यो । सेतो सेरामिकको कचौरोमा आएको अडर्र उसले खाई सकेको थिएन । लजाउदै उसले आफ्नो जुठो खाने प्रस्ताब गरेको थियो । मैले भर्खर मेरो भागमा परेको सुप खाई सकेकी थिए । जुठो खादा माया बढ्छ रे । यस्तो सुनेको थिए मैले । मलाई लाग्यो, उस्ले मेरो मायाको परिक्षा लिनेछ । र यो पहिले चरण हो । या यो चरण दोस्रो या तेश्रो पनि हुन सक्छ ।

"मेरो माया तिम्रो लागि अथाह छ पारुहांग !" मैले मनमनै सुनाए उस्लाई । उस्ले सारेको सेरमिकको कचौरा आफूतिर तानेर, कचौराको सुप खाए । "अब तपाई खानु ।" मैले उ भए तिरै त्यो  सुप सारे । उसले ३ चम्ची खाएर मतिरै फेरी सार्दै भन्यो – खानुनी" । "कत्तिन !" भन्दै... मैले सबै  खाए । "मैले सबै खाए परुहांग" - मनमनै भने । उसले मैले मन मनै भनेको सुनेन । तर सेरामिकको खाली कचौरा र सेरमिक्कै चम्ची एकआपसमा ठोकिदाको आवाज पक्कै सुन्यो । टिनङ्.... टिनङ्..... टिनङ्....

फोनबाट शुरु भएको हाम्रो परिचयले कति खेर मायाको रुप लियो थाहै भएन । जागिर खाने दौरानमा सिनियर टेक्निकल ओफिसरको हैसियतले पूर्व र सुदूरपश्चिममा गई रहनु पर्छ उसलाई । काठमाण्डौ कमै बस्न पाउछ ऊ । मेरो समाजसेवामा मात्र कुदिरहने बानी पटक्कै मन परेको छैन उस्लाई । म चाही काम न काज ब्यस्त सधै । फोनमा कुरा हुदाँ "राम्ररी पढाई सक्नु है" भन्न कहिले बिर्सदैन थियो ऊ ।

Photo taken from Google
उसको र मेरो भेट पहिलो थियो । लगभग हाम्रो परिचय भएको ५ महिना पछि । यो हाम्रो दोस्रो  भेट तोकिएको समय भन्दा २ घण्टा डिलो भएको थियो । म जनजाती आदिवासी महासंगको  साधारण सभा कार्यक्रममा सहभागी भएर ढिलो भए । उ पनि अचानक बानेश्वर, खै के कामले गर्दा जानु परेकोले ढिलो भयो । उ ठाटिएर आएको थिएन । सादा कालो कटनको पेन्ट र सर्ट अनि कालै ज्याकेट लगाएर आएको थियो । म पनि राम्री भएर गएको थिईन । न सदा लगाउने गाजल नै लगाएकी थिए । म चाहन्थे म जस्तो छु, तेस्तै उसले भेटोस । ममा उसले अरुको प्रतिबिम्ब कुनै नभेटोस । हिड्ने बेलामा आफुलाई हेरेकी थिए १ चोटी, कार्यक्रम हलको महिला शौचालयमा झुन्डाइएको ऐनामा अनि आफैले आफैलाई औला भरि आटाएको चुम्बन उडाएकी थिए आफै तिर ।

करिब ४ बजे तिर हाम्रो भेट भएको थियो । चाबहिलको रेस्टुरेन्टमा मलाई पर्खेर बसिरहेको थियो ऊ । नबोली म उसको पछि लागे । भर्यांङ्ग चड्दै हामी, रेस्टुरेन्टको कौसीमा बस्न पुगेका थियौ । हाम्रो आवाज नौलो थिएन, एक अर्काको लागि । भेट नै नौलो थियो । फोनमा बोले जस्तरी बोल्न लाज लाग्दै थियो, हामी दुवै लाई । लाजले असहज हुदै, सानो बालक झैँ मडारिदै थियो ऊ । उसका नजर घरि मतिर त घरि होटलको परिसर वरपर घुमिरहेका थिए । मेरो हाल तेस्तै थियो । उसले अन्तै नजर घुमाउदा मेरो नजर उसलाई नियाल्दथे, चोरी चोरी । यसरी उसलाई मेरा नयनले नियाली रहदा उस्का नयन मेरा नयन उपर अड्डीन पुग्थे । तेती बेला मेरो चोरी पक्रिदा लाजले भुतुक्कै हुँदै मेरा नजर अन्तै भाग्थे, आत्तिदै । वरपर गफिदै खादै गरेका मानिसहरुका नजरले हामीलाई पिलीक्क पिलिक्क घरि घरि हेरिरहन्थे । तेही पनि म आफुलाई सक्दो सहज बनाउदै, आफ्नो आत्माबिस्वास बढाउदै कुरा गर्ने प्रयास गर्थे । उ पनि – "केहि भानुस् न ।" भन्दै कुरा गर्ने आँट जुटाउदै थियो । म उसको ठिक अगाडी बसेको थिए ।

कुरा आगाडी बडेन, उस्ले आफ्नो खुट्टाले मेरो खुट्टालाई हल्का हिर्काउदै कुरा गर्ने इसारा दियो । मैले मुख बिगार्दै, आँखा चिम्से बनाउदै उसलाई हेरे । उसले मुसुक्क मुस्कान छर्दै हाँसिदियो । मात्र हे... हे... हे... को आवाजमा । "उफ्फ्फ़ !!! यो मुस्कान !"  मुटुमा चस्स बिजे झैँ गरि गाडियो । मिठो गरि । "यहि हाँसो हो, मलाइ लुट्ने । मलाई तान्दै यहाँ सम्म ल्याउने ।" म मनमनै डुबे, निथ्रुक्क भिज्दै । फेरी तुरुन्तै ओभानो भए ।

"अनि भाइलाई कस्तो छ ? डेटिङमा पनि के भाइको कुरा गर्या होला"- म आफै ठुस्किंए आफैसंग । "अच्छा छ ।" उस्ले भन्यो । "ए... !” भन्दै, मैले मुन्टो हल्लाए सुस्तरी । फेरी बिश्राम कुरामा ।

अगी आएको बफ मो: मो: पनि सेलाउदै थियो । "पिरो नमिठो, नखानी म त", उसले भन्यो । "उम्म… " मैले पनि सहमती जनाउदै, नाक खुम्चाउदै भने । "मिठो त अगिनको सुप थियो । तिम्ले दिएको" मैले मनमनै हाँस्दै भने उस्ले नसुन्ने गरि, "फटाईनि ..।"

"छि केहि भनुनी," मलाई निकै बोर लग्यो । अहिले चाहि, प्वाक्क भने । "सोध्नु नि", उसले भन्यो । मैले प्रस्न गरे, "के सोध्नु" । "...जे तपाइलाई मन पर्छ", उसले प्रति उत्तर दियो । "छैन केहि पनि... कुरा आए पो भन्नु या सोध्नु ! आफु चाही केटा भएर केहि नभन्नि कत्तिन !!" मनमनै, मुर्मुरिए । उसले नजिकैको तिसु पेपर लिएर केहि लेख्यो । अनि म तिर सार्यो । मैले खोलेर हेरे । "आइ लभ यु  ! भनि लेखेको रहेछ । मुसुक्क मुस्कान फुस्कियो मेरो । लाजले फेरी रातो पिरो भए उठेर भागी हालु झैँ । फेरी लाज पचाउदै "..थाहा छ त !", मैले भने । आँखा जुधाउन नसकी भुईमा केहि झरेको चाल पाएर हेरे झै भुइतिर हेरे । म चुप भए । बोल्ने शब्द नै हराए । न उनै बोली रहेको थियो । फेरी अर्को टिसु पेपर लिएर अगि झैँ लेखेर मतिर सार्यो उस्ले । हेरे, अंग्रेजीमा "मूहा: (Muhaa!) !"  लेखेको रहेछ । लौ अब के भन्नु ! कस्तो मात्तेको, फटाहा । पहिलो भेट मै के के भन्नि, रिस उठ्दो । स्वाँ... स्वास नाकबाट भित्र तान्दै रिसाये झैँ गरी आँखा चिम्सो परेर उसलाई हेरे । अड् मान्दै टाउको, कुम पछाडी लगी हाँस्यो ऊ हे.. हे.. हे.. हे..। अनि मतिर नहेरी वरी परी आँखा डुलाउन लाग्यो ।

"भयो अब यहाँ कुरा आएन जौ..." उसलाई अति भएछ जुरुक्क उठ्यो । "उम्म… " हुन्छ । म पनि उसको कुरालाई समर्थन गर्दै उठे । बिल रु. ४८० भएछ, उसैले तिर्यो ।

गन्तब्य दुबैको सुन्धाराको आर. एन.एसी. भएकोले दुवै एकै ट्याक्सीमा चढेउ । ऊ अप्ठेरो मान्दै ट्याक्सीको झ्याल बाहिर हेरिरह्यो । सायद आगिको कुराले होला । म पनि अर्को झ्यालबाट बाहिर हेरिरहे । साथमा आफुले माया गरेको मान्छे संगै हुदाँ प्रफुल्ल थियो मन, सुन्दर सपना बुन्दै, मख्ख हुदै  ।

"पारुहांग तिम्रा हरेक दुख, सुखमा साथ दिने संकल्प लिएर तिम्लाई जीवनको सहयात्री चुनेकी छु । जिन्दगीको बिच बाटोमा छोडदैनौ नि मलाई ?" मेरा नजरले उस्लाई प्रश्नका भावहरुमा हेरे । केहि छिन मेरा नजरलाई नियाल्दै... उस्ले आफ्नो बाया हातको औला मेरो दाया हातका औला बिचमा छिराएर कस्सेर समात्यो । अनि उस्का आँखाका भावहरुले बाचा गर्दै भने । "म केबल तिम्रो... मात्र तिम्रो पारुहांग, मलाई छोडेर नजानु है, सुमी,.. कस्सम छ, तिम्लाई मेरो मायाको । "उस्को काँधमा आफ्नो शिर अड्डाएर, आँखा चिम्लदै भने, ".. कस्सम" ।

ट्याक्सी चालक ट्याक्सी सुरक्षित चलाउने ध्यानमा थियो । हुन सक्छ हामीलाई पनि नियाल्दै थियो, थाहा भएन । तर ट्याक्सी गुडीरहेको थियो, आफ्नै गतिमा निरन्तर । नेपथ्यमा मनिला र उदय सोताङ्ग, बजिरहेको थिए, "..आधी बाटो हिडे पछि तिमीसंग भेट भयो । जिन्दगीको हाम्रो यात्रा तेहीबाट शुरु भयो, सानो मोडैंमा ।"
Photo taken from Google



: लक्ष्मी राई 
धरान, सुनसरी 
२०७० असार २७ शनिबार