Showing posts with label सृजना. Show all posts
Showing posts with label सृजना. Show all posts

Tuesday, June 21, 2022

कविता : बिडम्बना

लक्ष्मी राई

अभावको अध्यारा दिनहरुसँग जुद्दै गर्दा

छिचोल्दै गर्दा गरीबीको घना जंगलहरु

लाग्दो हो तिमीहरुलाई

पखाल्दैछौ पूर्वजन्मको कुकर्मको पाप

 आठ घण्टा काम

आठ घण्टा मनोरन्ञ्जन

आठ घण्टा आरामका प्रावधानहरु

तिम्रै जुनीमा सम्भव बनाउनेछौ भन्दै

सरकार, पार्टी र नेताहरु कुर्लिदै गर्दा

उनीहरुकै सपनाहरुको भारी बोक्दा बोक्दा गलेका शरिरलाई

पाँच घण्टा पनि निन्द्राको पोल्टामा हाल्नै नसक्दा

रातारात करोडपति भएका मालिकहरुलाई हेर्दै

दुत्कार्दै होलाउ तिमीहरु आफ्नै भाग्यलाई

 

फालेर शदियौदेखि पूर्वजन्मको पाप र भाग्यको अस्श्रु ग्यास

तिमीहरुलाई आँखा खोल्नै नसक्ने बनाईरहदा

तिमीहरुले स्वास फेर्नै नसक्ने पारिरहदा

उम्कीने कुनै बाटो फेला नपरेपछि

उदासीन तिमी र तिम्रा सन्तानहरु

आफैलाई ध्वस्त पार्ने बाटो रोज्दै गर्दा

उनीहरुले नै फैलिईरहेका भ्रमका सिकार भएका तिम्रा सन्तानहरु

तिमी र तिम्रो पुस्तालाई यसको जिम्मेवार बनाउदै होलान्

 

युगौ देखि तिमीहरुको पुस्ता

पसिना बगाउदै छ यो धर्तिमा

धर्ति गोडेर अन्न उब्जाउदै आएको तिमीहरुको पुस्ता

दु:खले समय अघिन चाउरीएका फुङ्ग अनुहारहरुमा

खुशीको मुस्कान छर्ने ठेक्का लागाउनेछन् उनीहरु

हरेक चुनावमा, हरेक कारखानामा, हरेक बजारमा

प्रतेक दिन, प्रतेक साल

 

तिमीहरुले सुनौ

तिमीहरुको लालाबालाहरु कुपोषणले अहिलेसम्म

तङग्रीन नसकिरहेको बेला

सर्वहाराको सरकारले

पठाएको छ तिमीहरुको नाममा सन्देश

जनतालाई भोकै नमार्ने सन्देश

तिम्रो सरकारलाई महसुस भैईसकेको छ

समृद्ध देश बनाउन स्वस्थ जनता चाहिन्छ

 

पूर्खालाई झै तिमीहरुलाई पनि

बेवकुफ बनाउ सफल हुनेछन् नियत बिग्रेकाहरु

समाजवाद सहितको समृद्धि ल्याउने वाचा लिएर

फेरी तिमीहरुको झुपडी धाउनेछन्

गएको चुनावका भन्दा नविन र ठूलो हुनेछ

उनीहरुका योजनाहरु

 

ढुक्क भएर बस

उनीहरुको काम भने तर

तिमीहरुको आवश्यकता भन्दा फरक हुनेछन्

तिमीहरुको चाहाना भन्दा विपरीत  हुनेछन् ।

******