Sunday, September 6, 2020

कविता : पिडा

                 लक्ष्मी राई     

कुशे औंसीको त्यो दिन
भएभरका सम्मान र प्रेम बटुलेर
बाहरूलाई पोष्टाउदै थियो सामाजिक सञ्जाल
Happy Father's Day

तर
जोगेन्द्र महत्तो गुहार माग्दै थिए
मृगौला रोगी छोराको ज्यान बचाउन


बिन्ति हमर बच्चाके डाईलासिस करादु
हमर बच्चाके ज्यान बचादु

आङ्ग सिरिङ्ग गराउने प्रमोद महत्तोको
असैह्य पिडाको क्रन्दन
छोराको पिडामा जलिरहेको
बाबु आमाको चिच्याहट
कसैले सुनेनन् त्यो दिन

परिणामतः उपचारको अभावमा
मृत्युको खबर छापियो अखबारमा
कति होलान् नछापिएका प्रमोद महत्तोहरू
बेखबर झैं भएका छन् सदियौं देखि यो देशमा

पिडा उस्तै थियो
तिम्रो र सम्माननिय ज्यूको पनि
भुईमान्छेहरुको नियति न हो
कुल्चन्छन् सहजै जस्ले पनि

सत्ता लिप्सामा डुबेका मगजहरू
गौण बनाउदै आईरहेका छन्
जनताका स्वासको महत्व सधैभरी
आज तिम्रो हबिगत जे
उस्तै भोलि हाम्रो पनि ।।।

No comments: