४० वसन्त पार गरेकी सुन्दरहरैँचा वडा नं ५ को विपन्न मुसहर समुदाय निवासी रमावती मुसहर (परिवर्तित नाम) ले पाठेघरमा लागेको रोगले संसारबाट बिदा लिनुपर्ला भन्ने सोचेकै थिइनन् । तर त्यस्तै भयो, २०७६ सालमा पाठेघरमा समस्याले उनको प्राण लियो । त्यही साल नै अर्की २ दशक पनि पार नगरेकी अनिता ऋषिदेव (परिवर्तित नाम) गर्भवती भएकी थिइन् । दुःखको कुरा न बच्चालाई बचाउन सकियो न आमालाई नै बचाउन सकियो । सुत्केरी भएपछि शरीर सुन्निने, पेट सुन्निने समस्या भएको थियो । आर्थिक अभाव भएका कारण उनको समयमै राम्रो उपचार हुन सकेन र १ महिना पश्चात आमाको पनि मृत्यु भयो ।
यो घटना पश्चात सो समुदायमका महिलाहरुसँग यस विषयमा छलफल भयो । अन्य महिलालाई पनि यो समस्या छ कि भनी कुरा गर्दा एक पछि अर्को महिलाले आआफ्नो समस्या सुनाउँदै गए । धेरैमा भइरहेको समस्या सुने पश्चात् स्थानीय स्वास्थ्य चौकीमा परामर्श गर्दा नेपालमा धेरै महिलाहरुमा प्रजनन् स्वास्थ्य समस्या भएका कारण ज्यान गुमाउनु परेको पाइयो । यी रोगहरु सामान्य संक्रमणको रुपमा मात्र सीमित नरही क्यान्सरजस्तो प्राणघातक रोगमा परिणत पनि हुने गर्दछ, भन्ने जानकारी प्राप्त भयो ।नेपालमा स्तन क्यान्सर पश्चात् पाठेघरको समस्याले महिलाहरुको मृत्यु हुने गरेको विभिन्न समाचार माध्यममार्फत् सूचना प्रवाह भइरहँदा पनि यसबारे अधिकांश मानिसहरुलाई थाहै छैन । अझ विपन्न समुदायका महिलाहरुमा स्वस्थ्य उपचार गर्न गराउन आर्थिक अभाव, सचेतनाको अभाव साथै धामी झाँक्रीलाई पहिले देखाउन जाने जस्ता अन्धविश्वास रहेको पाइन्छ । यसकारण धेरै महिलाहरुमा यौन रोग तथा पाठेघरको समस्या रहन सक्ने अनुमान रहेको जानकारी पाएपछि लुमन्ती (सुन्दरहरैँचा नगरपालिकामा कार्यरत गैरसरकारी संस्था) ले स्वास्थ चौकी तथा परिवार नियोजन संघ विराटनगरको सहकार्यमा ५ स्थानमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर राख्यो ।
घटना घटेकै स्थानमा लुमन्ती र वडा नं. ५ स्वास्थ्य चौकीको सहकार्यमा पहिलो चरणको शिविर समुदायमै राखियो । स्वास्थ्य चौकीमा परिक्षण सामग्री पर्याप्त व्यवस्था नभएका कारण जम्मा १७ जना लाई मात्र परीक्षण गर्न सकियो । जाँचको परिणामले ३ जनाको मात्र पाठेघर अवस्था राम्रो देखियो । बाँकी १४ जना मध्ये ११ जनामा यौनाङ्ग तथा पाठेघरमा संक्रमण देखियो र ३ जनामा पाठेघर झरेको देखियो । त्यसपछि सुन्दरहरैँचा नगरपालिकाका १२ वडाका २१ विपन्न समुदायहरुलाई लक्षित गरी ४ चरणको परिक्षण शिविरको आयोजना गरिएको थियो । जसमा परिवार नियोजन संघ विराटनगरले प्राविधिक सहकार्य गरेको थियो । ५ चरणको स्वास्थ्य परीक्षणको परिणामले २ सय १७ जना मध्ये ६४ प्रतिशतमा यौन रोग सम्बन्धी संक्रमण देखियो । ३ प्रतिशतको पाठेघर झरेको र ३१ प्रतिशतको अवस्था समान्य रहेको देखियो भने २ प्रतिशत महिलाहरु परीक्षण गर्नै डराएर परीक्षण गराएनन् । शिविरका दौरानमा स्वास्थ्यकर्मीले औषधी प्रयोग गर्न दिएको सुझाव अनुसार कतिले औषधी प्रयोग गरे, गरेनन् भनी बुझ्दा धेरैले प्रयोग नगरेको भेटियो । यसका कारण आर्थिक अभाव भएकैले महिलाहरु रोगबारे जानकारी पाउँदापाउँदै पनि उपचार नगरेको र औषधी नखाएको पाईयो । केही महिलाहरु रोगबारे जानकार हुँदाहुदै पनि उपचारका लागि नगएको भेटियो ।
शिविरमा पाठेघर परीक्षण गरेकी वडा नं ९ की एक महिला सानै उमेरमा ३ जना छोरीकी आमा भइसकेकी थिइन् । शिविरको परीक्षणले उनलाई पाठेघरको समस्या गम्भीर रहेको देखाएको छ । यस्तो अवस्थामा पुनः अर्को बच्चा जन्माउन जोखिमपूर्ण छ उनलाई । जोखिमको डरभन्दा छोरा जन्माउनु पर्ने कर छ, उनलाई । विदेशबाट श्रीमान्ले पठाएको रकम जोहो गरेर ५० हजार जम्मा गरिसकेकी छिन् । उनी भन्छिन्, ‘यो रकम फेरि पनि छोरी बसेछ भने अप्रेसन गरेर फाल्नका लागि राखेकी हुँ ।’ पैसा हुदाँहुदै पनि उनले औषधी किनेर खाएकी भने थिइनन् । समाजमा स्थापित पित्तृसत्तात्मक मान्यताका कारण परिवार र समाजको दबाबका कारण उनलाई जसरी भए पनि छोरा जन्माउनु छ । तर आफ्नै जीवन जोखिममा परिरहँदा पनि उनलाई औषधी खान भने कुनै चासो छैन ।
शिविरमा परीक्षणमा सहभागी सिनियर अनमी सन्जु शिवाकोटी भन्छिन्, ‘महिलाहरु लाजका कारण आफ्ना रोग लुकाउँछन् । थाहा भै भइहाले पनि सक्दो लुकाउँछन्, जबसम्म रोगले शरिरलाई गलाउदैन । यसको परिणाम धेरै महिलाहरुको मृत्यु भएको पाइन्छ ।’
राम्रो कुरा यस शिविरमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको भेटिएन तर अधिकांश संक्रमित भेटिए । परिवार नियोजन संघ विराटनगर शाखाका प्रमुख शंकर दाहाल भन्छन्, ‘महिलाहरुले व्यक्तिगत सरसफाइमा ध्यान नदिनु, रजस्वला हुदाँका बखत अपनाउनुपर्ने सरसफाइप्रति ध्यान नदिनु तथा अपरिपक्व शारीरिक अवस्थामै विवाह गर्नु र बच्चा जन्माउनुका कारण पनि यस्ता रोगको संकम्रमण बढेको हो । यस्ता संक्रमणको लामो समयसम्म उपचार नभएमा एचआईभी तथा पाठेघरको क्यान्सरको जोखिम सक्छ ।’
खुला र सामान्य रुपमा चर्चा नहुने यस्ता यौन रोगहरु चाहे महिला हुन् वा चाहे पुरुष दुवैले लुकाउने गरेको पाइन्छ । नेपाली समाजमा यी विषयमा छलफल लाजको दायराभित्र पर्दै आएको छ । यसका विषयमा छलफल गर्ने मानिसलाई ‘छाडा’ को संज्ञा दिने गरिएको छ । अझ महिलाहरुलाई यस विषयमा छलफल गर्नु भनेको निकै हिम्मतको विषय हुन्छ । यस्ता समस्याबारे छलफल गर्न वा कसैलाई सुचित गर्नु पर्यो भने, त्यो कुरा भनेपछि आउने प्रतिक्रियाका कारण मानशसक तनावको सामना गर्न पनि तयार बन्नुपर्ने हुन्छ । त्यसैले पनि धेरै महिलाहरु यस विषयमा कुरै गर्न चाहँदैनन् ।
करीब ५० विपन्न समुदायहरु भएको सुन्दरहरैँचाका २२ समुदायका थोरै जनसंख्या २ सय १७ महिलाहरु मात्रमा गरिएको भीआईए परीक्षणमा पनि ६७ प्रतिशतमा संक्रमण भेटिएको छ । यो आफैँमा गम्भीर समस्या हो । स्थानीय तहले शिविर राख्ने तथा जनचेतानामूलक कार्यक्रमका लागि योजना तथा बजेट विनियोजन गर्नु मात्र पनि प्रभावकारी नबन्न सक्छ जबसम्म सघन तवरमा कार्यक्रम कार्यान्वयन गर्न सकिँदैन ।
23 June 2022 मा nispakshyakhabar.com छापिएको हो ।
https://nispakshyakhabar.com/?p=35299&fbclid=IwAR3auYbzJIy8usfrdO5ukcNQ4UK5iEHltj6SW94WKV94rBDDcPy6Dy_TnwU