Friday, July 26, 2013

यात्रा (भाग १ )

"....खानुन "। उसले, अगी अडर्र गरेको भेज मसरुम सुप मतिर सार्दै भन्यो । सेतो सेरामिकको कचौरोमा आएको अडर्र उसले खाई सकेको थिएन । लजाउदै उसले आफ्नो जुठो खाने प्रस्ताब गरेको थियो । मैले भर्खर मेरो भागमा परेको सुप खाई सकेकी थिए । जुठो खादा माया बढ्छ रे । यस्तो सुनेको थिए मैले । मलाई लाग्यो, उस्ले मेरो मायाको परिक्षा लिनेछ । र यो पहिले चरण हो । या यो चरण दोस्रो या तेश्रो पनि हुन सक्छ ।

"मेरो माया तिम्रो लागि अथाह छ पारुहांग !" मैले मनमनै सुनाए उस्लाई । उस्ले सारेको सेरमिकको कचौरा आफूतिर तानेर, कचौराको सुप खाए । "अब तपाई खानु ।" मैले उ भए तिरै त्यो  सुप सारे । उसले ३ चम्ची खाएर मतिरै फेरी सार्दै भन्यो – खानुनी" । "कत्तिन !" भन्दै... मैले सबै  खाए । "मैले सबै खाए परुहांग" - मनमनै भने । उसले मैले मन मनै भनेको सुनेन । तर सेरामिकको खाली कचौरा र सेरमिक्कै चम्ची एकआपसमा ठोकिदाको आवाज पक्कै सुन्यो । टिनङ्.... टिनङ्..... टिनङ्....

फोनबाट शुरु भएको हाम्रो परिचयले कति खेर मायाको रुप लियो थाहै भएन । जागिर खाने दौरानमा सिनियर टेक्निकल ओफिसरको हैसियतले पूर्व र सुदूरपश्चिममा गई रहनु पर्छ उसलाई । काठमाण्डौ कमै बस्न पाउछ ऊ । मेरो समाजसेवामा मात्र कुदिरहने बानी पटक्कै मन परेको छैन उस्लाई । म चाही काम न काज ब्यस्त सधै । फोनमा कुरा हुदाँ "राम्ररी पढाई सक्नु है" भन्न कहिले बिर्सदैन थियो ऊ ।

Photo taken from Google
उसको र मेरो भेट पहिलो थियो । लगभग हाम्रो परिचय भएको ५ महिना पछि । यो हाम्रो दोस्रो  भेट तोकिएको समय भन्दा २ घण्टा डिलो भएको थियो । म जनजाती आदिवासी महासंगको  साधारण सभा कार्यक्रममा सहभागी भएर ढिलो भए । उ पनि अचानक बानेश्वर, खै के कामले गर्दा जानु परेकोले ढिलो भयो । उ ठाटिएर आएको थिएन । सादा कालो कटनको पेन्ट र सर्ट अनि कालै ज्याकेट लगाएर आएको थियो । म पनि राम्री भएर गएको थिईन । न सदा लगाउने गाजल नै लगाएकी थिए । म चाहन्थे म जस्तो छु, तेस्तै उसले भेटोस । ममा उसले अरुको प्रतिबिम्ब कुनै नभेटोस । हिड्ने बेलामा आफुलाई हेरेकी थिए १ चोटी, कार्यक्रम हलको महिला शौचालयमा झुन्डाइएको ऐनामा अनि आफैले आफैलाई औला भरि आटाएको चुम्बन उडाएकी थिए आफै तिर ।

करिब ४ बजे तिर हाम्रो भेट भएको थियो । चाबहिलको रेस्टुरेन्टमा मलाई पर्खेर बसिरहेको थियो ऊ । नबोली म उसको पछि लागे । भर्यांङ्ग चड्दै हामी, रेस्टुरेन्टको कौसीमा बस्न पुगेका थियौ । हाम्रो आवाज नौलो थिएन, एक अर्काको लागि । भेट नै नौलो थियो । फोनमा बोले जस्तरी बोल्न लाज लाग्दै थियो, हामी दुवै लाई । लाजले असहज हुदै, सानो बालक झैँ मडारिदै थियो ऊ । उसका नजर घरि मतिर त घरि होटलको परिसर वरपर घुमिरहेका थिए । मेरो हाल तेस्तै थियो । उसले अन्तै नजर घुमाउदा मेरो नजर उसलाई नियाल्दथे, चोरी चोरी । यसरी उसलाई मेरा नयनले नियाली रहदा उस्का नयन मेरा नयन उपर अड्डीन पुग्थे । तेती बेला मेरो चोरी पक्रिदा लाजले भुतुक्कै हुँदै मेरा नजर अन्तै भाग्थे, आत्तिदै । वरपर गफिदै खादै गरेका मानिसहरुका नजरले हामीलाई पिलीक्क पिलिक्क घरि घरि हेरिरहन्थे । तेही पनि म आफुलाई सक्दो सहज बनाउदै, आफ्नो आत्माबिस्वास बढाउदै कुरा गर्ने प्रयास गर्थे । उ पनि – "केहि भानुस् न ।" भन्दै कुरा गर्ने आँट जुटाउदै थियो । म उसको ठिक अगाडी बसेको थिए ।

कुरा आगाडी बडेन, उस्ले आफ्नो खुट्टाले मेरो खुट्टालाई हल्का हिर्काउदै कुरा गर्ने इसारा दियो । मैले मुख बिगार्दै, आँखा चिम्से बनाउदै उसलाई हेरे । उसले मुसुक्क मुस्कान छर्दै हाँसिदियो । मात्र हे... हे... हे... को आवाजमा । "उफ्फ्फ़ !!! यो मुस्कान !"  मुटुमा चस्स बिजे झैँ गरि गाडियो । मिठो गरि । "यहि हाँसो हो, मलाइ लुट्ने । मलाई तान्दै यहाँ सम्म ल्याउने ।" म मनमनै डुबे, निथ्रुक्क भिज्दै । फेरी तुरुन्तै ओभानो भए ।

"अनि भाइलाई कस्तो छ ? डेटिङमा पनि के भाइको कुरा गर्या होला"- म आफै ठुस्किंए आफैसंग । "अच्छा छ ।" उस्ले भन्यो । "ए... !” भन्दै, मैले मुन्टो हल्लाए सुस्तरी । फेरी बिश्राम कुरामा ।

अगी आएको बफ मो: मो: पनि सेलाउदै थियो । "पिरो नमिठो, नखानी म त", उसले भन्यो । "उम्म… " मैले पनि सहमती जनाउदै, नाक खुम्चाउदै भने । "मिठो त अगिनको सुप थियो । तिम्ले दिएको" मैले मनमनै हाँस्दै भने उस्ले नसुन्ने गरि, "फटाईनि ..।"

"छि केहि भनुनी," मलाई निकै बोर लग्यो । अहिले चाहि, प्वाक्क भने । "सोध्नु नि", उसले भन्यो । मैले प्रस्न गरे, "के सोध्नु" । "...जे तपाइलाई मन पर्छ", उसले प्रति उत्तर दियो । "छैन केहि पनि... कुरा आए पो भन्नु या सोध्नु ! आफु चाही केटा भएर केहि नभन्नि कत्तिन !!" मनमनै, मुर्मुरिए । उसले नजिकैको तिसु पेपर लिएर केहि लेख्यो । अनि म तिर सार्यो । मैले खोलेर हेरे । "आइ लभ यु  ! भनि लेखेको रहेछ । मुसुक्क मुस्कान फुस्कियो मेरो । लाजले फेरी रातो पिरो भए उठेर भागी हालु झैँ । फेरी लाज पचाउदै "..थाहा छ त !", मैले भने । आँखा जुधाउन नसकी भुईमा केहि झरेको चाल पाएर हेरे झै भुइतिर हेरे । म चुप भए । बोल्ने शब्द नै हराए । न उनै बोली रहेको थियो । फेरी अर्को टिसु पेपर लिएर अगि झैँ लेखेर मतिर सार्यो उस्ले । हेरे, अंग्रेजीमा "मूहा: (Muhaa!) !"  लेखेको रहेछ । लौ अब के भन्नु ! कस्तो मात्तेको, फटाहा । पहिलो भेट मै के के भन्नि, रिस उठ्दो । स्वाँ... स्वास नाकबाट भित्र तान्दै रिसाये झैँ गरी आँखा चिम्सो परेर उसलाई हेरे । अड् मान्दै टाउको, कुम पछाडी लगी हाँस्यो ऊ हे.. हे.. हे.. हे..। अनि मतिर नहेरी वरी परी आँखा डुलाउन लाग्यो ।

"भयो अब यहाँ कुरा आएन जौ..." उसलाई अति भएछ जुरुक्क उठ्यो । "उम्म… " हुन्छ । म पनि उसको कुरालाई समर्थन गर्दै उठे । बिल रु. ४८० भएछ, उसैले तिर्यो ।

गन्तब्य दुबैको सुन्धाराको आर. एन.एसी. भएकोले दुवै एकै ट्याक्सीमा चढेउ । ऊ अप्ठेरो मान्दै ट्याक्सीको झ्याल बाहिर हेरिरह्यो । सायद आगिको कुराले होला । म पनि अर्को झ्यालबाट बाहिर हेरिरहे । साथमा आफुले माया गरेको मान्छे संगै हुदाँ प्रफुल्ल थियो मन, सुन्दर सपना बुन्दै, मख्ख हुदै  ।

"पारुहांग तिम्रा हरेक दुख, सुखमा साथ दिने संकल्प लिएर तिम्लाई जीवनको सहयात्री चुनेकी छु । जिन्दगीको बिच बाटोमा छोडदैनौ नि मलाई ?" मेरा नजरले उस्लाई प्रश्नका भावहरुमा हेरे । केहि छिन मेरा नजरलाई नियाल्दै... उस्ले आफ्नो बाया हातको औला मेरो दाया हातका औला बिचमा छिराएर कस्सेर समात्यो । अनि उस्का आँखाका भावहरुले बाचा गर्दै भने । "म केबल तिम्रो... मात्र तिम्रो पारुहांग, मलाई छोडेर नजानु है, सुमी,.. कस्सम छ, तिम्लाई मेरो मायाको । "उस्को काँधमा आफ्नो शिर अड्डाएर, आँखा चिम्लदै भने, ".. कस्सम" ।

ट्याक्सी चालक ट्याक्सी सुरक्षित चलाउने ध्यानमा थियो । हुन सक्छ हामीलाई पनि नियाल्दै थियो, थाहा भएन । तर ट्याक्सी गुडीरहेको थियो, आफ्नै गतिमा निरन्तर । नेपथ्यमा मनिला र उदय सोताङ्ग, बजिरहेको थिए, "..आधी बाटो हिडे पछि तिमीसंग भेट भयो । जिन्दगीको हाम्रो यात्रा तेहीबाट शुरु भयो, सानो मोडैंमा ।"
Photo taken from Google



: लक्ष्मी राई 
धरान, सुनसरी 
२०७० असार २७ शनिबार

No comments: