Saturday, August 31, 2013

धरानका सुकुम्बासी समस्यालाई नियाल्दा

शहरीकरणसंगै आधारभूत सेवा सुबिधाको खोजीमा शहर छिर्ने जनसंख्या दिनानुदिन बढ्दो छ । मुख्यतया सुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा तथा रोजगारीको अवसरको खोजीमा दैनिक रुपमा सहरमा जनाघनत्व बढ्दो छ । सुबिधा सम्पन जीवन यापनका लागि सम्भावनाको खोजि गर्दै, विभिन्न स्थान बसाइ सरी या आन्तरिक प्रवासीका रुपमा शहरी क्षेत्रमा चर्को भाडा तिरी आफ्नो गुजारा गरिरहेका छन् । बढ्दो महंगी, शहरी जीवन शैली, असिमित आवश्यकता अनि सिमित स्रोतका कारण अभाव ग्रस्त जीवन बिताई रहेका छन् । तेस्त आवश्यकताको परिपूर्ति गर्न, विकल्पको खोजी गर्ने क्रममा सरकारी प्रति जग्गा, खाली खोला किनारका डिल तथा वन क्षेत्र फडानी गरि अव्यवस्थित, असुरक्षीत बसोबास गरिरहेका छन् ।


 पछिल्लो समयमा देशले १० वर्षे गृहयुद्धको मार सहनु पर्यो । जनजीवन कस्ठकर मात्र होईन जनताले सुरक्षाको प्रत्याभुती समेत गर्न पाएनन् । हजारौले आफ्नो थातथलो छोडेर सुरक्षित क्षेत्रमा भाग्न बाध्य हुनुपर्यो । एकसरो कपडामा सुरक्षाको खोजी गर्दै सहरी क्षेत्रमा पसेका द्धन्द्ध विस्थापीतहरु मध्ये हजारौ बसोबासका लागि यस्ता स्थानमा बस्न शुरु गरेको पाइन्छ । भने केहि मानिसहरु विभिन्न कारण वश जमिनको स्वामित्व गुमाएका र आफ्ना नाममा कतै कुनै स्थानमा जमिन नरहेका कारण यस्ता क्षेत्रमा बसोबास गर्न बाध्य छन् । जस्लाई सुकुम्बासीको रुपामा समाज तथा राज्यले परिभाषित गरेको छ ।


२०६२ सालमा धरान नगरपालिकाका कर्मचारी हरि बहादुर कार्कीको संयोकत्व तथा सुकुम्बासी संगठन, नेपाल बसोबास बस्ति संरक्षण समाजसंगको सहकार्यमा गरिएको तथ्यांक संकलन गरिएको थियो । यसअनुसार धरान नगरपालिका भित्र ६४ सुकुम्बासी समुदायमा ६ हजार घरधुरी रहेको तथ्यांकले देखाउछ । जस मध्ये ३३ समुदायहरु सालन्य बाढीबाट प्रभावित हुने गर्दछन् । ६ समुदाय भूकम्पीय दृष्टिकोणबाट जोखिमपूर्ण अवस्थामा रहेका छन् । 

वर्षेनी बाढीकै कारण धरानका वडा नं.३ को कृष्णा पाख्रिन मार्ग, धरान वडा नं. ४ को शान्ति टोल तेस्तै गरी वडा नं.७ को दोभान लाईन, वडा नं.८ दुर्गा पथ, अरुण, बरुण, गौरी टोल, गुम्बा मार्ग, सभा गृह, र श्रवन मार्ग, वडा नं.१० को खहरे पुतलीलाईन, पुष्पलाल मार्ग, वडा नं.११ को गौरी टोल, वडा नं.१३ को अमर बस्ति क, ख र ग, वडा नं.१५ का हाम्रो लाईन, गणत्रन्त्र क, ख र ग, ललित टोल, बिरनारायण मार्ग, खोरिया बस्ति, वडा नं.१६ को सिमाना, प्रगती टोल, लोकत्रान्त्रिक र नौलो बस्ति, वडा नं.१७ का शान्ति टोल, सप्तरंगी मार्ग, फोकल्याण्ड टापू तथा वडा नं. १९ को खहरे गैरी तथा गुम्बा मार्ग जस्ता समुदायहरु जोखिम ग्रस्त समुदायमा पर्दछन् ।


२०६६ सालको बाढीका कारण फोकल्याण्ड टापुका २२ र बरुण टोलको १   घरपरिवार गरी २३ घरपरिवार बिस्थापित हुनु परेको थियो । गत वर्ष धरान वडा नं. ८ स्थित गौरी टोलमा १ घर, राती आएको बाढीले भत्काई दियो । दुर्गा पथको ८ घर यस साल बाढीकै उच्च जोखिममा परेका छन् । यी त धरानका केही प्रतिनिधी घटना मात्र हुन् । वर्षातसंगै सुकुम्बासी समुदायामा बाढीले ल्याउने जोखिमबाट त्रसित दैनिकी शुरु हुन्छन् । नगरमा निर्माण भएका नालाहरु अव्यवस्थित रुपमा खहरे, तीन ढुवाङगे र ती जस्ता अन्य खोलामा मिसाईनाले वर्षातमा यी खोलाहरुमा पानीको मात्रा बढ्दा जोखिम बढेको छ । 

यस्ले सुकुम्बासी समुदायमा समस्या त ल्याएकै छ, संगसंगै नगरका भौतिक संरचनाहरु पनि ध्वस्त हुदै छन् । यस वर्ष (२०६९) खहरेमा बाढीका कारण धरान वडा नं. १६ स्थित सिमाना टोल अगाडिको पुल जोखिममा परेको छ । धरान वडा नं. ८ को तीन ढुवानङे पुल भत्किने अवस्थामा पुगेको छ । समयमै यो पुल संरक्षण नगर्ने हो भने पुल र पुलसंगै जोडिएका ४ सुकुम्बासी समुदायहरु तथा आसपासका नम्बरी घर तथा जग्गाहरु बग्ने सम्भावना छ । स्थानीय निकाय तथा सरोकारवाला संघ संस्थाको तात्कालिन जोखिम न्यूनीकरण गर्ने कार्यले मात्र यस्ता समस्याको दिर्घकालिन समाधान हुन नसक्ने देखिन्छ । जस्का लागि दिर्घकालिन योजना बनाई कार्वान्वयन पक्षलाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।  

गरिबी, अशिक्षा, सुचना तथा जनचेतनाको कमीका कारण यी समुदायहरुलाई बिकासको मूल धारमा ल्याउन नसकीरहेको अवस्था छ । जबर्जस्ती उठिबास, प्राकृतिक प्रकोप, जोखिमपूर्ण स्वस्थ्य अवस्था, आधारभुत सेवा सुबिधा र गुणस्तरीय शिक्षामा पहुँचको अभाव भएको यस समुदायहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि असमान, अमानविय र नकारात्मक रहेको छ । चोर, डाँका, फटाहा, जड्याहा, अनपढ, असभ्य बस्ने समुदायको रुपमा विस्लेषण र दुर्व्यवहार गरि मानसिक तथा सामाजिक रुपले होच्याईन्छ । जसकारण यहाँका मानिसहरुलाई सम्मानजनक जीवन विताउने वातावारणको प्रत्याभूति हुन सकेको छैन ।
  
    : लक्ष्मी राई
  (यो लेख धरानमा प्रकाशित हुने औजार दैनिकमा २०६९ सालमा प्रकाशित भएको छ ।)   


No comments: