Monday, January 27, 2025

राज्यसञ्चालकले सुनून् यौन पेसाकर्मीका दुःख

२०८१ पौष २१, आइतबार

राम्रो कमाइ र सम्मानित पेसा सबैको सपना हो। तर देशमा चरम बेरोजगारी छ। जीविकोपार्जनका लागि सहज रोजगारीको अवसर मागअनुरूप छैनन्। देशका मुख्य शहरमा डान्स बार, मसाज पार्लरलगायत अनौपचारिक मनोरञ्जन क्षेत्रले दैनिक करोडौँको व्यापार गरिरहेको छ। खासगरी कतिपय ‘मसाज पार्लर’ तथा सडक/सार्वजनिक क्षेत्रमै पुगेर यौन पेसा अपनाउनेको संख्या दिनानुदिन बढ्दो छ। यस पेसामा महिला मात्र नभई पुरुष र यौनिक/लैंगिक अल्पसंख्यक समुदाय पनि सक्रिय छन्। उमेरका हिसाबले कलिला किशोर/किशोरीदेखि ७० वर्षसम्मका व्यक्ति यस पेसामा संलग्न पाइन्छ।

सरकारको तथ्यांकअनुसार नेपालमा यौन व्यवसाय गर्ने महिलाको संख्या ५५ हजार छ। यूएनएड्सको सन् २०१६ को तथ्यांकअनुसार नेपालमा ६७ हजार महिला यौनकर्मी छन्। यौन व्यवसायलाई सामाजिक संस्कृति भड्काउने अनैतिक कार्य र अश्लील कर्मका रूपमा समाजले चित्रण गरेको छ। अन्य सामाजिक, कानूनी अवहेलना र अपराधीकरणका कारण पनि जिउनकै लागि यो पेसा गर्नेहरू आफ्नो पहिचान खुलाउन चाहँदैनन् या सकिरहेका छैनन्। यस कारण पहिचान नखुलेका यौनकर्मीको संख्या अझै धेरै हुन सक्ने अनुमान गर्न सकिन्छ।

इटहरीकी एक यौनकर्मी भन्छिन्, ‘म एकल महिला हुँ। ममाथि एक सन्तान र आमाबाबुको हेरचाहको जिम्मेवारी छ। महिनामा एक हप्ताजस्तो काम गर्दा यही पेसाको भरले आफ्नो पारिवारिक जिम्मेवारी पूरा गरिरहेकी छु, मजस्तो गरिब परिवारको मान्छेले अन्य काम गरेर सो गर्न सम्भवै थिएन।’ तीन वर्षदेखि यस पेसामा रहेकी उनी आफू कसैको बल वा करकापले नलागेको बताउँछिन्। उनी बाध्यताले मात्रै यस पेसामा लागेको सहजै बुझिन्थ्यो।

यौनकर्मी समुदाय र तिनका आन्दोलनले यौन पेसालाई कामका रूपमा स्थापना गर्न निरन्तर वकालत गरिरहेको छ। केही पहिले इटहरीमा भएको अन्तरक्रियामा यौन पेसामा प्रवेश गर्नु बाध्यता मात्र नभई रोजाइ र स्वनिर्णय भएको यौनकर्मीले बताएका थिए। उनीहरूमध्ये धेरैको कुरा यही थियो, ‘अन्य कामझैँ यौनसँग जोडेर गरिएको एक प्रकारको श्रम हो यो। यस काममा अर्को पक्षलाई यौन सेवा प्रदान गरेर अर्थोपार्जन गरिरहेका छौँ हामी।’

वयस्क व्यक्ति बीचको होसपूर्ण आपसी सहमतिमा यौन सेवा आदानप्रदान गर्ने र सोबापत पारिश्रमिक भुक्तान गरिने भएकोले यो श्रम नै हो। उनीहरूको तर्क सही छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले पनि 'यौन कार्य संसारकै पहिलो र प्रमुख आय आर्जनको गतिविधि थियो' भन्ने तर्क गरेको देखिन्छ। यद्यपि, यौन व्यवसायमा यौनकर्मीको सम्मान, सहमति र उचित पारिश्रमिकको पक्षमा आईएलओले सदैव जोड दिन्छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र (यूडीएचआर)ले ‘सबैलाई स्वतन्त्र रूपमा रोजगारी छनौट गर्ने र काम गर्ने अधिकार छ’ भनेको छ। 

नेपालमा पनि यौन व्यवसायमा संलग्न तथा तिनको हितका खातिर काम गरिरहेका संस्थाले अन्तर्राष्ट्रिय महासन्धिलगायत विभिन्न मानव गरिमाका मान्यता टेक्दै ‘यौन पेसालाई मान्यता प्रदान गरियोस्’ भनिरहेका छन्, तर सरकारले मौनता साँधिरहेको छ।

सामाजिक संरचनाले जन्माएका यौनकर्मी
बच्चा जन्मिनु केही घण्टासम्म पनि उनी 'यौन श्रम' गरिरहेको थिइन्। १३ दिनको सुत्केरी, उनलाई कामभन्दा आरामको आवश्यकता थियो। तर आर्थिक अवस्था कमजोर भएको कारण 'आलो सुत्केरी' उनी यौन कार्य गर्न गइन्। नभोग्ने/नदेख्नेलाई अतिशयोक्तिपूर्ण कथा लाग्ला यो तर भोको पेट र अन्य दैनिक आवश्यकतासँग जुध्नलाई उनीसँग अरू कुनै विकल्प थिएन। लेखकले भेटेकी एक पात्रको कहालीलाग्दो कथा हो यो।

कोभिड१९ को लकडाउनपछि आफ्नो चिया पसलको कमाइले परिवार पाल्न सकिनन् र यो पेसा अपनाउन बाध्य भइन्। कोभिडयता पूर्वको इटहरी, धरान, विराटनगर र दमकलाई कार्यक्षेत्र बनाएर उनी यस पेसामा संलग्न छिन् र परिवार धानेकी छन्। यो अर्को कथा हो।

परिवारको कुनै सदस्य बिरामी हुँदा तिनको खर्च धान्न कोही यो पेसामा जोडिएका छन् भने कोही भाइबहिनी, छोराछोरी र आफ्नै शिक्षाका लागि खर्च जोहो गर्न यता आइपुगेका छन्। खासगरी उत्पीडित र सीमान्तकृत समुदायका महिला आधारभूत आवश्यकता पूर्तिकै लागि यस पेसामा लागेका छन्। समाजको आर्थिक असमानता र सामाजिक विभेदको राम्ररी सम्बोधन नभएका कारण एक खालको समुदाय विवश भई यौनकर्मी बनिरहेका छन्।

सीमान्त वर्गका यौन कर्मीको अवस्था
नेपाली शब्दकोशअनुसार सीमान्तको अर्थ सीमाको छेउ, दोसाँध (अन्तिम अवस्था) भन्ने रहेको छ। सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक अवसर तथा लाभबाट वञ्चित वर्ग-समुदाय हुन् सीमान्तकृत, जो आधारभूत सेवा, स्रोत तथा साधनको पहुँचबाहिर हुन्छन्। राज्यले प्रवाह गर्ने सेवासुविधा सबैका लागि समान अधिकारको विषय भनिए तापनि धार्मिक-सांस्कृतिक उपेक्षा, उत्पीडन, स्रोतको असमान वितरण, केन्द्रीकृत संरचनाका कारण खास समुदाय र वर्गका व्यक्ति सीमान्तमा पुग्छन्। 

यस क्षेत्रमा शिक्षित, आर्थिक रूपमा सबल र अन्य पेसामा लाग्न सक्ने वर्ग/समुदायका व्यक्ति पनि छन्, तर तिनको संख्या कम छ। नचाहँदा जतिखेर पनि तिनले यो क्षेत्र छाड्न सक्छन् र उनीहरू कम जोखिममा छन्। आर्थिक, शैक्षिक तथा सामाजिक रूपमा कमजोर र सीमान्तकृत वर्गका धेरै यौनकर्मी संरक्षण र सहयोगको अभावमा निरीह छन्। 

सीमान्तकृत महिला न त हिंसाबाट सुरक्षित छन् न त श्रमअनुसारको पारिश्रमिक नै प्राप्त गर्न सक्छन्। स्वयंमा सुरक्षित यौन सम्पर्कको ज्ञानको कमी, तथा ग्राहकको असुरक्षित व्यवहारले स्वास्थ्य समस्या प्रमुख हो। ग्राहकले थोरै पैसामा काम गर्न दबाब दिने, सहमति भएअनुसार पैसा दिन नमान्ने, जबरजस्त मनपरी गर्न खोज्ने, नमान्दा कुटपिट गर्ने, धम्की दिने मात्रै होइन, गोपनीयता भङ्ग गरिदिने धम्की दिँदै निःशुल्क यौन सम्पर्क गर्न खोज्ने जस्ता समस्या यौनकर्मीले भोग्ने गरेका छन्।

तमाम उत्पीडनसँगै उनीहरू प्रहरीबाट समेत अनावश्यक तनाव तथा हिंसा भोग्छन्। यौन श्रममा संलग्न भएकै कारण प्रहरीले मरणासन्न हुने गरी कुट्ने र गालीगलौज गर्ने गरेका छन्। त्यस्तो हिंसाको उजुरी दिँदा प्रहरीले गर्दा गर्नै मान्दैन। त्यस्तै, यौन सम्पर्कको भिडियो बनाउने/फोटो खिचेर साथी सर्कलमा शेयर गर्दै दुःख दिने ग्राहकका कारण पनि यौनकर्मीहरू पीडित हुने गरेका छन्। 

बलात्कारजस्तो गम्भीर अपराधमा समेत ‘फलानो केटी पहिल्यै किन सचेत भइन त?’ भन्दै बलात्कारीलाई संरक्षण गर्ने हाम्रो समाजमा यौनकर्मीमाथि हुने हिंसालाई जायज ठानिँदै/मानिँदै आएको छ। यसो भन्दैमा सबै पुरुष ग्राहक हिंस्रक हुँदैनन्। यौनकर्मीहरूका अनुसार केही ग्राहक आफ्नो यौन सहकर्मीलाई सामान्य व्यक्तिलाई झैँ व्यवहार गर्छन् र यौनकर्मलाई सुरक्षित र मर्यादित बनाउने प्रयास गर्छन्। यस्ता ग्राहक अक्सर नियमित ग्राहकका रूपमा आइरहने ती यौनकर्मी बताउँछिन्। 

मौन सरकारहरू
प्रत्येक वर्ष स्थानीय तहको विकासका लागि स्थानीय तहले बजेट निर्माण गर्छ। कतिपय स्थानीय तहका प्रतिनिधि यसकै लागि जनताको घरघर र टोलटोलसमेत पुगेर सुझाव संकलन गर्छन्। सचेत जनता यसमा सहभागी हुन्छन् तर यौनकर्मीहरू सम्बन्धित वडा तथा जनप्रतिनिधिसम्म पुग्नै सक्दैनन्। उनीहरू सार्वजनिक मञ्चमा पुगेर आफ्नो आत्मसम्मान, गरिमा र सुरक्षाबारे बोल्न सक्ने अवस्था छैन। यौनकर्मी समुदायविरुद्ध नराम्रो नजरियाकै कारण यौनकर्मीले आफ्नो पहिचान खुलाउने आँट गर्न सकेका छैनन्।

विश्वकै पुरानो यस व्यवसायलाई फिनल्यान्ड, न्युजिल्यान्ड, क्यानडा, बेल्जियमलगायत थोरै देशले निश्चित शर्त तोकेर पेसाको रूपमा कानूनी मान्यता दिएका छन्। कानूनी मान्यता प्रदान नगरिएका देशमा पनि यो व्यवसायले आर्थिक कारोबारको निकै ठूलो हिस्सा ओगट्ने गरेको पाइन्छ। कठोर नैतिकता, पवित्रता र शुद्धताको वकालत गर्ने धार्मिक मुलुकमा समेत यौन पेसा व्यापक छ। नेपालमा पनि व्यवसायकै रूपमा कतिले यसलाई अपनाएका छन् तर कानूनी मान्यता प्रदान गर्नुको साटो अपराधीकरण गरेको छ।

कानूनी मान्यता नदिएका कारण यौनकर्मीलक्षित योजना निर्माण गरी तिनको हितका लागि काम गर्न संघीयदेखि स्थानीय सरकारसमेत हिचकिचाइरहेका छन्। यो विषयलाई उठाउने हिम्मत जनप्रतिनिधिसमेत गर्न सकिरहेका छैनन्। यस्तो विषय उठाउँदा जनमत र जनविश्वास गुम्ने डर छ तिनलाई। जसका कारण दिनानुदिन यो पेसाभित्र हिंसा, शोषण र भेदभाव झनै जटिल र विकराल बन्दै गइरहेको छ।

यो समस्याको सम्बोधन गर्ने मुख्य माध्यम समुदाय तथा तिनको कामको पहिचान, सम्मान र निरअपराधीकरण हो। यौन व्यवसाय, समाजमा यौनकर्मीको उपस्थिति र उनीहरूसँग यस्ता गम्भीर विषयलाई सरकारले नजरअन्दाज गर्न पटक्कै मिल्दैन। राज्यमा रहेका गम्भीर र संवेदनशील राजनीतिज्ञ र जनप्रतिनिधिले यसबारे तदारुकता देखाउनै पर्छ। उत्पीडित समुदायका आमा, दिदीबहिनी र छोरीहरूका लागि काम गर्न अबेर भइसक्यो।

(यो लेख Ukaalo.com मा मिति २०८१ पौष २१ आईतबार प्रकाशन भएको छ ।) link :https://www.ukaalo.com/opinion/20250105-sex-wokers-right-nepal/22703

Sunday, June 18, 2023

विचार जोखिममा सुन्दरहरैँचाका विपन्न महिलाहरु

 

४० वसन्त पार गरेकी सुन्दरहरैँचा वडा नं ५ को विपन्न मुसहर समुदाय निवासी रमावती मुसहर (परिवर्तित नाम) ले पाठेघरमा लागेको रोगले संसारबाट बिदा लिनुपर्ला भन्ने सोचेकै थिइनन् । तर त्यस्तै भयो, २०७६ सालमा पाठेघरमा समस्याले उनको प्राण लियो । त्यही साल नै अर्की २ दशक पनि पार नगरेकी अनिता ऋषिदेव (परिवर्तित नाम) गर्भवती भएकी थिइन् । दुःखको कुरा न बच्चालाई बचाउन सकियो न आमालाई नै बचाउन सकियो । सुत्केरी भएपछि शरीर सुन्निने, पेट सुन्निने समस्या भएको थियो । आर्थिक अभाव भएका कारण उनको समयमै राम्रो उपचार हुन सकेन र १ महिना पश्चात आमाको पनि मृत्यु भयो ।

यो घटना पश्चात सो समुदायमका महिलाहरुसँग यस विषयमा छलफल भयो । अन्य महिलालाई पनि यो समस्या छ कि भनी कुरा गर्दा एक पछि अर्को महिलाले आआफ्नो समस्या सुनाउँदै गए । धेरैमा भइरहेको समस्या सुने पश्चात् स्थानीय स्वास्थ्य चौकीमा परामर्श गर्दा नेपालमा धेरै महिलाहरुमा प्रजनन् स्वास्थ्य समस्या भएका कारण ज्यान गुमाउनु परेको पाइयो । यी रोगहरु सामान्य संक्रमणको रुपमा मात्र सीमित नरही क्यान्सरजस्तो प्राणघातक रोगमा परिणत पनि हुने गर्दछ, भन्ने जानकारी प्राप्त भयो ।

नेपालमा स्तन क्यान्सर पश्चात् पाठेघरको समस्याले महिलाहरुको मृत्यु हुने गरेको विभिन्न समाचार माध्यममार्फत् सूचना प्रवाह भइरहँदा पनि यसबारे अधिकांश मानिसहरुलाई थाहै छैन । अझ विपन्न समुदायका महिलाहरुमा स्वस्थ्य उपचार गर्न गराउन आर्थिक अभाव, सचेतनाको अभाव साथै धामी झाँक्रीलाई पहिले देखाउन जाने जस्ता अन्धविश्वास रहेको पाइन्छ । यसकारण धेरै महिलाहरुमा यौन रोग तथा पाठेघरको समस्या रहन सक्ने अनुमान रहेको जानकारी पाएपछि लुमन्ती (सुन्दरहरैँचा नगरपालिकामा कार्यरत गैरसरकारी संस्था) ले स्वास्थ चौकी तथा परिवार नियोजन संघ विराटनगरको सहकार्यमा ५ स्थानमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर राख्यो ।

घटना घटेकै स्थानमा लुमन्ती र वडा नं. ५ स्वास्थ्य चौकीको सहकार्यमा पहिलो चरणको शिविर समुदायमै राखियो । स्वास्थ्य चौकीमा परिक्षण सामग्री पर्याप्त व्यवस्था नभएका कारण जम्मा १७ जना लाई मात्र परीक्षण गर्न सकियो । जाँचको परिणामले ३ जनाको मात्र पाठेघर अवस्था राम्रो देखियो । बाँकी १४ जना मध्ये ११ जनामा यौनाङ्ग तथा पाठेघरमा संक्रमण देखियो र ३ जनामा पाठेघर झरेको देखियो । त्यसपछि सुन्दरहरैँचा नगरपालिकाका १२ वडाका २१ विपन्न समुदायहरुलाई लक्षित गरी ४ चरणको परिक्षण शिविरको आयोजना गरिएको थियो । जसमा परिवार नियोजन संघ विराटनगरले प्राविधिक सहकार्य गरेको थियो । ५ चरणको स्वास्थ्य परीक्षणको परिणामले २ सय १७ जना मध्ये ६४ प्रतिशतमा यौन रोग सम्बन्धी संक्रमण देखियो । ३ प्रतिशतको पाठेघर झरेको र ३१ प्रतिशतको अवस्था समान्य रहेको देखियो भने २ प्रतिशत महिलाहरु परीक्षण गर्नै डराएर परीक्षण गराएनन् । शिविरका दौरानमा स्वास्थ्यकर्मीले ‌औषधी प्रयोग गर्न दिएको सुझाव अनुसार कतिले औषधी प्रयोग गरे, गरेनन् भनी बुझ्दा धेरैले प्रयोग नगरेको भेटियो । यसका कारण आर्थिक अभाव भएकैले महिलाहरु रोगबारे जानकारी पाउँदापाउँदै पनि उपचार नगरेको र औषधी नखाएको पाईयो । केही महिलाहरु रोगबारे जानकार हुँदाहुदै पनि उपचारका लागि नगएको भेटियो ।

शिविरमा पाठेघर परीक्षण गरेकी वडा नं ९ की एक महिला सानै उमेरमा ३ जना छोरीकी आमा भइसकेकी थिइन् । शिविरको परीक्षणले उनलाई पाठेघरको समस्या गम्भीर रहेको देखाएको छ । यस्तो अवस्थामा पुनः अर्को बच्चा जन्माउन जोखिमपूर्ण छ उनलाई । जोखिमको डरभन्दा छोरा जन्माउनु पर्ने कर छ, उनलाई । विदेशबाट श्रीमान्ले पठाएको रकम जोहो गरेर ५० हजार जम्मा गरिसकेकी छिन् । उनी भन्छिन्, ‘यो रकम फेरि पनि छोरी बसेछ भने अप्रेसन गरेर फाल्नका लागि राखेकी हुँ ।’ पैसा हुदाँहुदै पनि उनले ‍औषधी किनेर खाएकी भने थिइनन् । समाजमा स्थापित पित्तृसत्तात्मक मान्यताका कारण परिवार र समाजको दबाबका कारण उनलाई जसरी भए पनि छोरा जन्माउनु छ । तर आफ्नै जीवन जोखिममा परिरहँदा पनि उनलाई औषधी खान भने कुनै चासो छैन ।

शिविरमा परीक्षणमा सहभागी सिनियर अनमी सन्जु शिवाकोटी भन्छिन्, ‘महिलाहरु लाजका कारण आफ्ना रोग लुकाउँछन् । थाहा भै भइहाले पनि सक्दो लुकाउँछन्, जबसम्म रोगले शरिरलाई गलाउदैन । यसको परिणाम धेरै महिलाहरुको मृत्यु भएको पाइन्छ ।’

राम्रो कुरा यस शिविरमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको भेटिएन तर अधिकांश संक्रमित भेटिए । परिवार नियोजन संघ विराटनगर शाखाका प्रमुख शंकर दाहाल भन्छन्, ‘महिलाहरुले व्यक्तिगत सरसफाइमा ध्यान नदिनु, रजस्वला हुदाँका बखत अपनाउनुपर्ने सरसफाइप्रति ध्यान नदिनु तथा अपरिपक्व शारीरिक अवस्थामै विवाह गर्नु र बच्चा जन्माउनुका कारण पनि यस्ता रोगको संकम्रमण बढेको हो । यस्ता संक्रमणको लामो समयसम्म उपचार नभएमा एचआईभी तथा पाठेघरको क्यान्सरको जोखिम सक्छ ।’

खुला र सामान्य रुपमा चर्चा नहुने यस्ता यौन रोगहरु चाहे महिला हुन् वा चाहे पुरुष दुवैले लुकाउने गरेको पाइन्छ । नेपाली समाजमा यी विषयमा छलफल लाजको दायराभित्र पर्दै आएको छ । यसका विषयमा छलफल गर्ने मानिसलाई ‘छाडा’ को संज्ञा दिने गरिएको छ । अझ महिलाहरुलाई यस विषयमा छलफल गर्नु भनेको निकै हिम्मतको विषय हुन्छ । यस्ता समस्याबारे छलफल गर्न वा कसैलाई सुचित गर्नु पर्यो भने, त्यो कुरा भनेपछि आउने प्रतिक्रियाका कारण मानशसक तनावको सामना गर्न पनि तयार बन्नुपर्ने हुन्छ । त्यसैले पनि धेरै महिलाहरु यस विषयमा कुरै गर्न चाहँदैनन् ।

करीब ५० विपन्न समुदायहरु भएको सुन्दरहरैँचाका २२ समुदायका थोरै जनसंख्या २ सय १७ महिलाहरु मात्रमा गरिएको भीआईए परीक्षणमा पनि ६७ प्रतिशतमा संक्रमण भेटिएको छ । यो आफैँमा गम्भीर समस्या हो । स्थानीय तहले शिविर राख्ने तथा जनचेतानामूलक कार्यक्रमका लागि योजना तथा बजेट विनियोजन गर्नु मात्र पनि प्रभावकारी नबन्न सक्छ जबसम्म सघन तवरमा कार्यक्रम कार्यान्वयन गर्न सकिँदैन ।

23 June 2022 मा nispakshyakhabar.com छापिएको हो ।

https://nispakshyakhabar.com/?p=35299&fbclid=IwAR3auYbzJIy8usfrdO5ukcNQ4UK5iEHltj6SW94WKV94rBDDcPy6Dy_TnwU

Tuesday, June 21, 2022

कविता : बिडम्बना

लक्ष्मी राई

अभावको अध्यारा दिनहरुसँग जुद्दै गर्दा

छिचोल्दै गर्दा गरीबीको घना जंगलहरु

लाग्दो हो तिमीहरुलाई

पखाल्दैछौ पूर्वजन्मको कुकर्मको पाप

 आठ घण्टा काम

आठ घण्टा मनोरन्ञ्जन

आठ घण्टा आरामका प्रावधानहरु

तिम्रै जुनीमा सम्भव बनाउनेछौ भन्दै

सरकार, पार्टी र नेताहरु कुर्लिदै गर्दा

उनीहरुकै सपनाहरुको भारी बोक्दा बोक्दा गलेका शरिरलाई

पाँच घण्टा पनि निन्द्राको पोल्टामा हाल्नै नसक्दा

रातारात करोडपति भएका मालिकहरुलाई हेर्दै

दुत्कार्दै होलाउ तिमीहरु आफ्नै भाग्यलाई

 

फालेर शदियौदेखि पूर्वजन्मको पाप र भाग्यको अस्श्रु ग्यास

तिमीहरुलाई आँखा खोल्नै नसक्ने बनाईरहदा

तिमीहरुले स्वास फेर्नै नसक्ने पारिरहदा

उम्कीने कुनै बाटो फेला नपरेपछि

उदासीन तिमी र तिम्रा सन्तानहरु

आफैलाई ध्वस्त पार्ने बाटो रोज्दै गर्दा

उनीहरुले नै फैलिईरहेका भ्रमका सिकार भएका तिम्रा सन्तानहरु

तिमी र तिम्रो पुस्तालाई यसको जिम्मेवार बनाउदै होलान्

 

युगौ देखि तिमीहरुको पुस्ता

पसिना बगाउदै छ यो धर्तिमा

धर्ति गोडेर अन्न उब्जाउदै आएको तिमीहरुको पुस्ता

दु:खले समय अघिन चाउरीएका फुङ्ग अनुहारहरुमा

खुशीको मुस्कान छर्ने ठेक्का लागाउनेछन् उनीहरु

हरेक चुनावमा, हरेक कारखानामा, हरेक बजारमा

प्रतेक दिन, प्रतेक साल

 

तिमीहरुले सुनौ

तिमीहरुको लालाबालाहरु कुपोषणले अहिलेसम्म

तङग्रीन नसकिरहेको बेला

सर्वहाराको सरकारले

पठाएको छ तिमीहरुको नाममा सन्देश

जनतालाई भोकै नमार्ने सन्देश

तिम्रो सरकारलाई महसुस भैईसकेको छ

समृद्ध देश बनाउन स्वस्थ जनता चाहिन्छ

 

पूर्खालाई झै तिमीहरुलाई पनि

बेवकुफ बनाउ सफल हुनेछन् नियत बिग्रेकाहरु

समाजवाद सहितको समृद्धि ल्याउने वाचा लिएर

फेरी तिमीहरुको झुपडी धाउनेछन्

गएको चुनावका भन्दा नविन र ठूलो हुनेछ

उनीहरुका योजनाहरु

 

ढुक्क भएर बस

उनीहरुको काम भने तर

तिमीहरुको आवश्यकता भन्दा फरक हुनेछन्

तिमीहरुको चाहाना भन्दा विपरीत  हुनेछन् ।

******